काठमाडौं - गम्भीर सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ।
गृह मन्त्रालयस्रोतका अनुसार सशस्त्रकै अर्का एआईजी अञ्जनीकुमार पोखरेलले गरेको छानबिनपछि बर्खास्तको सिफारिस भएको हो। उनलाई भविष्यमा सरकारी सेवामा समेत योग्य नहुने गरी बर्खास्त सिफारिस भएको हो।
सिफारिसबमोजिम गृह मन्त्रालयमा त्यसको कागजात बनिरहेको स्रोतले जनाएको छ। बर्खास्तको निर्णय भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ।
एआईजी दाहाल गत १९ गते निलम्बनमा परेका थिए। उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका ज्वाइँ नाता पर्छन्। असोज ११ गते राणा बाँसबारीस्थित घरबाटै पक्राउ परेपछि लगत्तै हिरासतमा भेट्न पुगेका थिए। त्यसअघि प्रधानमन्त्री, गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी र सूचना चुहावट गरेको आरोप उनीमाथि लागेको छ।
राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा एआईजी दाहालसँग सम्बन्धित त्यस्ता सूचनाहरू खुलेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। पूर्वप्रधानन्यायाधीश राणाले विभिन्न मुद्दामा पक्राउ परी थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई छुटाउन चलखेल गरेको र त्यसमा पनि दाहालको भूमिका देखिएको स्रोतले जनाएको छ।