काठमाडौं - विजयादशमीको अवसरमा सेफर्ड कलेज काठमाडौंले बानेश्वरस्थित असहाय सेवा सदनमा आश्रित ज्येष्ठ नागरिकसँग दशैँको खुसी साटासाट गर्दै सहयोग प्रदान गरेको छ।
शुक्रबार कलेजको बीआईटी र बीएमटी कार्यक्रमका विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित दशैँ विशेष कार्यक्रममा ज्येष्ठ नागरिकलाई सहयोग रकम हस्तान्तरण गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले ज्येष्ठ नागरिकसँग टीका तथा आशीर्वाद ग्रहण गर्दै चाडपर्वको खुसी र आत्मीयता साटेका थिए।
कार्यक्रममा असहाय सेवा सदनका प्रशासनिक अधिकृत प्रेमराज उप्रेतीले दाताहरूको सहयोगबाट संस्था सञ्चालनमा महत्वपूर्ण योगदान पुगिरहेको बताए। उनले विद्यार्थीहरूको अग्रसरतामा आयोजना हुने यस्ता कार्यक्रमले नयाँ पुस्तामा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कलेजका सहायक क्याम्पस प्रमुख प्रेम पुन्थोकीले दशैँको पूर्वसन्ध्यामा मनोरञ्जनसँगै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए।
कार्यक्रममा कलेजका कोअर्डिनेटर जयराज खड्का, डीभी ग्रुपका एड्भाइजर अभिषेक रोयलगायतको उपस्थिति थियो।
आश्रममा आयोजित कार्यक्रमपछि कलेज परिसरमा दशैँ विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कलेजका अनुसार कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवाप्रतिको भावना अभिवृद्धि गर्नुका साथै ज्येष्ठ नागरिकसँग दशैँको खुसी, सद्भाव र आत्मीयता बाँड्ने अवसर प्रदान गरेको छ।