भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिवार हुने प्रदर्शनअघि राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ । यो समूहले यसअघि जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो ।
भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो ।
आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनमा प्रमुख विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीसहित अरू नेताहरू सहभागी हुँदै आएका छन् । यसै हप्ता प्रदर्शनका क्रममा गान्धीलाई प्रहरीले केही समय हिरासतमा समेत लिएको थियो ।
प्रदर्शनअघि शहरका प्रमुख सडकमा पहेँलो धातुका अवरोधक राखिएको छ र जन्तरमन्तरमा आवागमन प्रतिबन्धित गरिएको छ । प्रहरीले यो ठाउँमा र्याली गर्न अनुमति दिएको छैन ।
सीजेपीले आफ्ना स्वयंसेवक तथा समर्थकलाई प्रदर्शनअघि नै प्रहरीले हिरासतमा लिएको आरोप लगाएको छ । यस विषयमा प्रहरीले प्रतिक्रिया दिएको छैन ।
सीजेपीका कार्यकर्ता सौरभ दासले सामाजिक सञ्जालमा दिल्ली प्रहरी भाजपाको निजी सुरक्षादलजस्तै बनेको आरोप लगाउनुभएको छ ।