मन्त्री गीता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

मन्त्री गीता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगद्वारा तयार पारिएका विभिन्न विषयका प्रतिवेदन सार्वजनिक गर्नुभएको छ।

आज काठमाडौंको अनामनगरस्थित थारू आयोगको कार्यालयमा आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा मन्त्री चौधरीले थारू समुदायको भाषा, संस्कृति, स्वास्थ्य, इतिहास र सामाजिक अवस्थासँग सम्बन्धित प्रतिवेदनहरू सार्वजनिक गर्नुभएको हो।

सार्वजनिक गरिएका प्रतिवेदनमा थारू जातिको लोक चित्रकला, थारू समुदायका खाद्य परिकार, थारू मानक भाषा लेखनशैली निर्देशिका, थारू समुदायमा सिकल सेल एनिमिया र बिटा थालसेमियाको अवस्था, मुक्त कमैया तथा कम्लहरीहरूको अवस्था र थारू समुदायको बलिदानीको इतिहासलगायत विषय समेटिएका छन्।

कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। उहाँले प्रतिवेदन सार्वजनिक गर्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै तिनमा प्रस्तुत सुझाव तथा निष्कर्षलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउनुभयो।

थारू समुदायका विभिन्न समस्या सम्बोधन गर्न सम्बन्धित निकायसँगै थारू अगुवा तथा विज्ञहरूले पनि सक्रिय पहल गर्नुपर्ने उहाँको भनाइ थियो। प्रतिवेदनको कार्यान्वयनमार्फत समुदायका समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा मन्त्री चौधरीले जोड दिनुभयो।

थारू समुदायको भाषा, कला, संस्कृति, स्वास्थ्य तथा सामाजिक अवस्थाबारे तयार गरिएका यी प्रतिवेदनले समुदायका सवाललाई थप उजागर गर्नुका साथै नीतिगत सुधार र समस्या समाधानका लागि आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी