काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। भीषण बाढीका कारण धेरै जनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएकोप्रति महासचिव गुटेरेसले दुःख व्यक्त गरेको उनका प्रवक्ताद्वारा जारी वक्तव्यमा उल्लेख छ।
उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, महासचिव गुटेरेसले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउनेलगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ।
बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका उनले जानकारी गराएका छन्। महासचिव गुटेरेसले जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहोराएका छन्।