काठमाडौँ - नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा पहिले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्।
बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विद्यमान सामाजिक विकृति र विभेद अन्त्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई दौडधुपमा मात्र सीमित नभई जिम्मेवारीअनुसार परिणाममुखी काम गर्न आग्रह गरे। पार्टी केन्द्रको योजना र सभापतिको कार्ययोजनानुसार काम गर्नुपर्ने उनको भनाइ छ। शर्माले सामाजिक सञ्जालमा गलत सूचना आए विधिसम्मत प्रक्रियाबाट खण्डन गर्नुपर्ने तथा सामाजिक सञ्जाललाई समाज रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिए।
उनले पार्टीभन्दा पहिले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले विश्वव्यापी जलवायु परिवर्तनको असर न्यूनीकरण, हिमाल संरक्षण र विदेशमा रहेका नेपालीका भावनालाई सम्बोधन गर्न सरकारसँग सहकार्य गर्न काँग्रेस तयार रहेको बताए।
शर्माले भने, ‘पार्टीभन्दा पहिले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। देशका सामुन्ने सामाजिक रूपान्तरणको असरल्ल मुद्दाहरूलाई हामीले काँधमा बोक्नु छ।’
उनले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन (कोप–३१)को लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराए।