काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ। बैंकले सन् २०२४ र २०२५ पछि सन् २०२६ मा पनि उक्त प्रतिष्ठित सम्मान हासिल गरेको हो।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, डिजिटल तथा भौगोलिक पहुँच विस्तार, ग्राहकमैत्री सेवा, आधुनिक प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह तथा प्रभावकारी जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ।
समारोहमा नेपालको ग्लोबल आइएमई बैंकसहित भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, जापानको एमयूएफजी बैंक, हङकङको बैंक अफ चाइना लगायत विभिन्न अन्तर्राष्ट्रिय बैंकहरूलाई सम्मान गरिएको थियो।
ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंकसमेत रहेको ग्लोबल आइएमई बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
बैंकले यो उपलब्धिले थप गुणस्तरीय तथा आधुनिक बैंकिङ सेवा प्रदान गर्न प्रेरणा मिलेको उल्लेख गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।
देशका सबै ७७ जिल्लामा सेवा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको जनाएको छ।