काठमाडौँ - सरकारले भारतको सूर्या फुड एण्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड ब्राण्डका सम्पूर्ण बिस्कुटको बिक्र वितरणमा रोक लगाएको छ।
यो बिस्कुट बनाउन प्रयोग हुने कच्चापदार्थ मानव स्वास्थ्यलाई असर गर्ने खालको रहेको पाइएको भन्दै सरकारले प्रियागोल्ड ब्राण्ड सबै बिस्कुटहरूलाई नेपालमा बिक्री वितरण र खानका लागि रोक लगाएको हो।
विशेषगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त ब्राण्डको बिस्कुट मानिसको उपभोगका लागि नभएकाले नेपालमा बिक्रीवितरणमा रोक लाइएको हो। सो ब्राण्डको बिस्कुट भारतमा यसअघि नै मानव खपतका लागि रोक लगाइएको थियो। विभागका अनुसार नेपालमा पनि आयात हुने गरेको प्रियागोल्ड बिस्कुट खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत भएको पाइएकाले बिक्रीवितरणमा रोक लगाइएको हो ।
बिस्कुट बनाउन गाईवस्तुलाई खुवाउन प्रयोग गरिने चोकर र दाना प्रयोग गरेको भेटियो
खाद्य प्रविधि विभागले जारी गरेको सार्वजनिक सूचनामा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एसएसएआई) ले गरेको परीक्षणमा प्रियागोल्ड बिस्कुट उत्पादनमा गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने लाई रेसा/फाइबरको स्रोतका रूपमा प्रयोग गरेको पाइएको थियो। उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईबस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ उल्लेख गरिएको थियो ।
यसका साथै कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा गम्भीर लापरबाही पाइएपछि एसएसएआईले उत्पादक कम्पनीको इजाजतपत्र निलम्बन गरी अभियोजन प्रक्रिया अघि बढाएको छ।
विभागले जारी गरेको सुचनामा भनिएको छ, 'गाईवस्तुको दानाको प्रयोग: विस्कुटमा फाइबर वा रेसाको स्रोतको रूपमा प्रयोग गरिएको चोकर वास्तवमा गाईवस्तुको दानाका लागि मात्रै प्रयोग हुने र मानव उपभोगका लागि नभएको स्पष्ट खुल्न आएको छ। सो चोकर राखिएका जुटको बोराहरूमा नै "गाईवस्तुको दानाका लागि" र "मानव उपभोगका लागि नभएको" स्पष्ट रूपमा उल्लेख गरिएको थियो। यस्तै कारखानाको सरसफाइ, कीटनाशक नियन्त्रण (पेस्ट कन्ट्रोल), कच्चा पदार्थको भण्डारण, र व्यक्तिगत स्वच्छताजस्ता विषयमा समेत गम्भीर कमजोरीहरू पाइएका छन्। त्यसैले विक्रवितरणमा रोक लगाइएको छ।’
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रोडक्ट रिकल प्राविधिक समितिको भर्चुअल बैठकको सिफारिसका आधारमा यो निर्णय गरिएको विभागले जनाएको छ।
विभागका अनुसार नेपालका आधिकारिक पैठारीकर्ता तथा खाद्य व्यवसायीलाई कानूनबमोजिम प्रियागोल्डका सबै ब्याच र जुनसुकै उत्पादन मितिका बिस्कुट बजारबाट तत्काल फिर्ता गरी सञ्चय तथा अभिलेखीकरण गर्न निर्देशन दिएको छ।
उक्त उत्पादन नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा उपयुक्त तरिकाले नष्ट गरी विभागलाई जानकारी गराउनुपर्ने छ।
अर्को आदेश नभएसम्मका लागि सीमानाकाबाट प्रवेश अनुमति तथा पैठारी स्वीकृति स्थगित गरिएको छ। विभागको आदेशविपरीत बिक्रीवितरण गरेमा वा जनस्वास्थ्यमा सम्झौता गरेमा प्रचलित कानून अनुसार कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।