काठमाडौं – बढ्दो महँगीविरुद्ध फ्रान्सभर आयोजित प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा भएका झडप, लुटपाट र आगजनीका घटनामा संलग्न रहेको आरोपमा करिब २ हजार ४०० जना पक्राउ परेका छन्।
शनिबार भएका प्रदर्शनका क्रममा फैलिएको हिंसाले फ्रान्समा बढ्दो जीवनयापन खर्चप्रतिको जनआक्रोश र सरकारले अघि सारेको सार्वजनिक खर्च कटौतीको नीतिविरुद्धको असन्तुष्टिलाई उजागर गरेको छ। सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा यस घटनाले देशको राजनीतिक तनावसमेत बढाएको छ।
शनिबार फ्रान्सका कैयौँ सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुनुका साथै आगजनी र लुटपाटका घटना भएका थिए। फ्रान्सको गृह मन्त्रालयका अनुसार, झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएका छन्।
पेरिस प्रहरीले राजधानीमा मात्रै ८५५ जनालाई पक्राउ गरिएको जनाएको छ। यो राजधानीमा अहिलेसम्मकै उच्च पक्राउ संख्या भएको बताइएको छ। अभियोजन पक्षका अनुसार, पक्राउ परेकामध्ये १७१ नाबालिगसहित ५१७ जना हिरासतमा रहेका थिए। आइतबार बिहानसम्म पनि पक्राउ गर्ने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताइएको थियो।
राजधानीमा भएका अधिकांश पक्राउ चोरीका सामान लुकाएको वा राखेको आशंका, हिंसात्मक गतिविधिका लागि संगठित समूहमा सहभागी भएको तथा तोडफोड र उपद्रव मच्चाएको आरोपसँग सम्बन्धित छन्।
मध्य फ्रान्सको लिमोज सहरमा उपद्रवीहरूले ऐतिहासिक नगर भवनमा आगजनी गर्दा भवनको ठूलो हिस्सा जलेर नष्ट भएको छ। नगर प्रमुख गुइलेम गुरिनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै फ्रान्सेली सञ्चारमाध्यम एलसीआईसँग भने, ‘यस घटनाको निन्दा गर्न शब्द नै छैन। यो निकै भयानक छ। देश अहिले अराजकताको स्थितिमा पुगेको छ।’
यसैबीच, मार्से, लियोन, आभिग्नोन र ग्रेनोबल सहरमा पनि सार्वजनिक भवन तथा पसलहरूमाथि आक्रमण भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले विभिन्न सहरमा अश्रुग्यास, लाठीचार्ज र पानीको फोहरा प्रयोग गरेको थियो।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू पनि घाइते भएका छन्। सेन्ट–एटिएनमा प्रहरीले प्रहार गरेको अश्रुग्यास वा ग्रेनेडका कारण १७ वर्षीय एक युवकले हात गुमाउनुपरेको फ्रान्सेली समाचारपत्रले फिगारोले जनाएको छ। हिंसात्मक घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति इमानुएल म्याक्रोनले हिंसालाई कुनै पनि आधारमा जायज ठहर गर्न नसकिने बताएका छन्। सम्बोधनका क्रममा उनले भने, ‘आज राति हामीले आक्रोश र लज्जाको महसुस गरेका छौँ।’
उनले न्यायोचित माग राख्दै शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिक र तोडफोड, क्षति तथा लुटपाटमा संलग्न हुनेहरूबीच स्पष्ट भिन्नता छुट्याउनुपर्नेमा जोड दिए। प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाहीबारे पूर्ण पारदर्शिता अपनाउने प्रतिबद्धतासमेत राष्ट्रपति म्याक्रोनले व्यक्त गरे।
सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा म्याक्रोनको उत्तराधिकारी बन्न चाहने विपक्षी नेताहरूले पनि हिंसात्मक घटनाको आलोचना गरेका छन्। दक्षिणपन्थी नेतृ मरिन ल पेनले आफ्ना अति–वामपन्थी प्रतिद्वन्द्वी ज्याक–लुक मेलेन्चोनको दलमाथि हिंसालाई वैधानिकता दिएको आरोप लगाएको छ। उनले फ्रान्सेली जनतालाई अति–वामपन्थीहरूको हिंसाबाट सुरक्षित राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
यता, विद्यार्थी तथा जनप्रदर्शनलाई सुरुदेखि नै समर्थन गर्दै आएका मेलेन्चोनले प्रदर्शनकारीहरूलाई लुटपाटमा संलग्न नहुन आग्रह गरे। उनले लुटपाटलाई आफ्नो राजनीतिक कार्यशैलीको विपरीत भएको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने फ्रान्समा भएको प्रदर्शनको मुख्य कारण आप्रवासनसम्बन्धी समस्या रहेको दाबी गरेका छन्।