काठमाडौँ - महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ।
शुक्रवार काठमाडौँ महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिइन्।
उनकाअनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ।
उनले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा शुरु गरिएको हो।
कार्यवाहक प्रमुख डंगालले काठमाडौँमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन्।
ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले उक्त समस्याको समाधानका लागि बाइक एम्बुलेन्स सेवा शुरु गरिएको बताइन्।
उनले चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने बताइन्।
उनका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ।