चीन भ्रमणको अविस्मरणीय यात्रा: प्रविधि, विकास र आत्मीयताको सङ्गम

चीन भ्रमणको अविस्मरणीय यात्रा: प्रविधि, विकास र आत्मीयताको सङ्गम

भदौ २० गते काठमाडौँबाट चीनको ऐतिहासिक तथा आधुनिक शहर छेन्दुतर्फ उड्दै गर्दा मनमा अनेकौँ जिज्ञासा थिए। नयाँ देश, नयाँ परिवेश, नयाँ संस्कृति र विश्वले विकासको उदाहरणका रूपमा हेर्ने चीनलाई आफ्नै आँखाले नियाल्ने अवसर। पेसाले मिडियाकर्मी भएकाले पनि होला, कुनै नयाँ ठाउँमा पुग्दा त्यहाँको इतिहास, संस्कृति, जनजीवन र विकासको कथा बुझ्ने उत्सुकता सधैँ मनमा हुन्छ।
त्यस दिन काठमाडौँबाट हामी १० जनाको टोली चीनतर्फ प्रस्थान गरेका थियौँ। तर यो यात्रा त्यतिमै सीमित रहेन। छेन्दु पुगेपछि पोखराबाट आउनुभएका १५ जनासहित विभिन्न ठाउँबाट आएका साथीहरू जोडिँदै गए र हाम्रो टोली ४५ जनाको विशाल, जीवन्त र आत्मीय समूहमा परिणत भयो।

सुरुवाती एक–दुई दिन अपरिचित अनुहार, नयाँ ठाउँ र नयाँ परिवेशका कारण मनमा अलिकति संकोच र डर हुनु स्वाभाविक थियो। तर त्यो डर धेरै समय टिक्न पाएन। सबैको न्यानो व्यवहार, आत्मीयता, साथ र सहयोगले केही समयमै हामी अपरिचितबाट परिचित, परिचितबाट साथी र साथीबाट एउटा परिवारजस्तै बन्यौँ। सायद यात्राको सबैभन्दा सुन्दर पक्ष नै यही रहेछ, गन्तव्यभन्दा पनि बाटोमा भेटिएका मानिसहरूले यात्रालाई अविस्मरणीय बनाइदिन्छन्।

छेन्दुमा पुगेको पहिलो रात म आफ्नै परिवारकी बहिनीसँग बसेँ। तर बेइजिङ पुगेपछि भने पोखराबाट आउनुभएकी एकजना नयाँ तथा अपरिचित दिदी मेरो रुम पार्टनर बन्नुभयो।
काठमाडौँ फर्किँदासम्म उहाँसँगै बस्ने, घुम्ने र अनुभव साट्ने अवसर मिल्यो। सुरुमा अपरिचित भए पनि केही दिनमै उहाँसँगको सम्बन्ध यति आत्मीय बन्यो कि छुट्टिँदाको क्षणमा लामो समयदेखि चिनेजानेको आफ्नै मान्छेसँग छुट्टिएजस्तो अनुभूति भयो।

राति अबेरसम्म हुने हाम्रा अनगिन्ती कुराकानी, दिनभरि घुमेर फर्किएपछि साटिने अनुभव, हाँसो–ठट्टा र यात्राका साना–ठूला किस्साहरू अहिले सम्झिँदा झन् प्रिय लाग्छन्। उहाँले आफ्ना अनुभव सुनाउनुहुन्थ्यो, म आफ्ना कुरा सुनाउँथेँ। हामीले चीन मात्र घुमेनौँ, एकअर्कालाई पनि चिन्न पायौँ। यात्राले दिएको सबैभन्दा ठूलो उपहारमध्ये एउटा यही आत्मीय सम्बन्ध हो, जुन शायद चीनको भ्रमण सकिए पनि जीवनभर मनमा रहिरहनेछ।

छेन्दुमा रहँदा विश्वप्रसिद्ध पाण्डा संरक्षण केन्द्र पुग्ने अवसर मिल्यो। पाण्डालाई प्रत्यक्ष आँखैअगाडि देख्दा बाल्यकालमा तस्बिरमा हेरेका ती जनावर अचानक जीवन्त भएर हाम्रो सामु आएको जस्तो लाग्यो। पाण्डा संरक्षण केन्द्र, स्थानीय बजार र वरपरको जनजीवन नियाल्दै गर्दा चीनको अर्को पाटो बुझ्ने अवसर मिल्यो। आधुनिक विकाससँगै आफ्नो मौलिकता, संस्कृति र प्राकृतिक सम्पदालाई कसरी जोगाउन सकिन्छ भन्ने कुरा पनि त्यहाँ देख्न पाइन्थ्यो।

बेइजिङ पुगेपछि चीनको विशाल पर्खाल अर्थात् ‘ग्रेट वाल अफ चाइना’ हेर्ने अवसर मिल्यो। विश्वकै अद्भुत मानवनिर्मित संरचनामध्ये एक मानिने यो पर्खालको अगाडि उभिँदा इतिहास केवल किताबमा पढिने विषय होइन रहेछ भन्ने महसुस भयो। त्यो विशाल संरचना, त्यसको फैलावट र निर्माणमा प्रयोग भएको मानवीय श्रमको कल्पना गर्दा मनमा एउटै प्रश्न आयो, पुस्तौँअघि मानिसहरूले यति ठूलो संरचना निर्माण गर्ने साहस र संकल्प कसरी गरे होलान्रु ग्रेट वालको उचाइमा उभिएर तलतिर हेर्दा प्रकृति र मानव सिर्जनाबीचको अद्भुत सम्बन्ध देखिन्थ्यो। त्यो क्षण मेरो यात्राको सबैभन्दा स्मरणीय क्षणमध्ये एक बन्यो।

बेइजिङ भ्रमणका क्रममा हाम्रा लागि सबैभन्दा विशेष, भावुक र गौरवमय क्षणमध्ये एक थियो । राष्ट्रिय विभूति कलाकार अरनिकोको प्रतिमासामु उभिनु। चीनको राजधानी बेइजिङमा नेपाली कलाकार अरनिकोको प्रतिमा देख्दा सुरुमा त हामी केहीबेर स्तब्धजस्तै भयौँ। आफ्नै देशबाट सयौँ वर्षअघि चीन पुगेका एक नेपाली कलाकारको योगदान विदेशी भूमिमा आज पनि सम्मानका साथ स्मरण गरिएको देख्दा मनमा छुट्टै भाव पैदा भयो।

१३औँ शताब्दीमा नेपालबाट चीन पुग्नुभएका अरनिकोले चीनको कला तथा वास्तुकलामा पुर्‍याउनुभएको योगदानका बारेमा त्यहाँ विस्तृत रूपमा उल्लेख गरिएको रहेछ। उहाँले निर्माणमा योगदान पुर्‍याउनुभएको प्रसिद्ध सेतो चैत्य लगायतका ऐतिहासिक तथा भव्य संरचनासँग जोडिएको उहाँको योगदान त्यहाँ सम्मानपूर्वक प्रस्तुत गरिएको थियो।

तर हाम्रो मन अझ बढी भावुक त्यतिबेला भयो, जब हामीले अरनिकोका बारेमा चिनियाँ र अंग्रेजी भाषासँगै नेपाली भाषामै पनि स्पष्ट रूपमा लेखिएको देख्यौँ। विदेशी भूमिमा आफ्नै मातृभाषामा आफ्ना पूर्वजको नाम, इतिहास र योगदान लेखिएको देख्नु आफैँमा कति गौरवको क्षण होला १ त्यो दृश्यले हामी सबैको छाती गर्वले ढक्क फुलायो। हामी चीनको भूमिमा थियौँ, तर त्यहाँ नेपाली भाषा देख्दा एकाएक आफ्नै देशको माटो, आफ्नो इतिहास र आफ्ना पुर्खाहरूको सम्झना आयो। त्यो क्षणमा हामी पर्यटक मात्र थिएनौँ, आफ्ना पुर्खाको गौरवपूर्ण इतिहासको साक्षी बनिरहेका नेपाली थियौँ। अरनिकोको प्रतिमासामु उभिँदा एउटा गहिरो अनुभूति भयो, नेपाल र चीनबीचको सम्बन्ध आजको मात्र होइन, शताब्दीऔँ पुरानो रहेछ। कूटनीतिक सम्बन्ध औपचारिक रूपमा स्थापित हुनुभन्दा धेरैअघि नै कला, संस्कृति र सिर्जनाका माध्यमबाट दुई देशका मानिसहरू जोडिइसकेका रहेछन्। अरनिको त्यस ऐतिहासिक सम्बन्धका एउटा जीवन्त प्रतीक हुनुहुन्छ। त्यो दिन बेइजिङमा अरनिकोको प्रतिमासामु उभिँदा हामीले इतिहास पढिरहेका थिएनौँ, इतिहासलाई आफ्नै आँखाले छोइरहेका थियौँ। त्यो क्षण मेरो चीन यात्राको सबैभन्दा भावुक र गर्विलो सम्झनामध्ये एक बनेर सधैँ मनमा रहनेछ।

बेइजिङको भ्रमणपछि हाम्रो यात्रा अत्याधुनिक बुलेट ट्रेनमार्फत सांघाईतर्फ अघि बढ्यो। छ घण्टाभन्दा बढीको त्यो रेलयात्रा आफैँमा एउटा छुट्टै अनुभव थियो। तर मेरो ध्यान ट्रेनको गति र सुविधामा मात्र थिएन। झ्यालबाट बाहिर देखिने दृश्यले मलाई लगातार सोच्न बाध्य बनाइरहेको थियो। घण्टौँ लामो यात्रामा मेरो आँखाले खोज्दा पनि बाझो वा खाली जमिन खासै देखिएन। जहाँसम्म नजर पुग्थ्यो, व्यवस्थित खेतीपाती, कृषि उत्पादन र जमिनको उपयोग देखिन्थ्यो। आधुनिक प्रविधिको प्रयोग गरेर कृषिलाई उत्पादनसँग जोडिएको देख्दा मनमा नेपालको सम्झना आयो। हाम्रो देश नेपालमा रोजगारीको खोजीमा दैनिकजसो युवाहरू विदेशिइरहेका छन्। गाउँका उर्वर जमिन बाँझिँदै गएका छन्। यी विषयमा हामी मिडियाकर्मीले समाचार लेखेका छौँ, रिपोर्ट बनाएका छौँ र बहस गरेका छौँ।

तर चीनमा आफ्नै आँखाले कृषिमा प्रविधिको प्रयोग र जमिनको व्यवस्थित उपयोग देखेपछि मनभित्रबाट एउटा प्रश्न उठ्यो, हामी कहाँ चुकिरहेका छौँ ?

सायद चीनबाट हामीले सिक्नुपर्ने एउटा महत्वपूर्ण पाठ यही हो, श्रम, कृषि र प्रविधिलाई सही ढंगले जोड्न सक्ने हो भने विकासका धेरै ढोका आफैँ खुल्न सक्छन्। नेपालसँग सम्भावना छैन भन्ने होइन। सम्भावना प्रशस्त छन्। आवश्यकता ती सम्भावनालाई सही नीति, प्रविधि, श्रम र व्यवस्थापनसँग जोड्ने हो।

सांघाई पुगेपछि भने मलाई साँच्चिकै अर्कै दुनियाँमा पुगेजस्तो भयो। २१औँ शताब्दीको आधुनिक प्रविधि र विकासको युग कस्तो हुन्छ भन्ने कुरा सांघाईले आँखैअगाडि देखाइदियो। यसअघि सांघाईका बारेमा धेरै सुनेकी थिएँ। तस्बिर र भिडियोमा पनि हेरेकी थिएँ। तर आफ्नै आँखाले देख्दा त्यसको अनुभूति बिल्कुलै फरक रहेछ। गगनचुम्बी भवनहरू, अत्याधुनिक पूर्वाधार, व्यवस्थित सडक, मानिसहरूको व्यस्तता र हुवाङपु नदी किनारको रात्री दृश्य, सबै कुरा कुनै चलचित्रको दृश्यजस्तो लाग्थ्यो। तर ती चम्किला भवन र झिलिमिली बत्तीको पछाडि मानिसहरूको वर्षौँको मेहनत, अनुशासन, योजना र निरन्तर काम रहेको अनुभूति हुन्थ्यो। सांघाईले मलाई एउटा कुरा बुझायो ठूला शहरहरू केवल भवनले बन्दैनन्, ती मानिसहरूको सपना, श्रम, अनुशासन र निरन्तर प्रयासले बन्छन्। यदि कसैले विदेश भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने जीवनमा एकपटक सांघाई पुगेर त्यहाँको विकास र जीवनशैली आफ्नै आँखाले हेर्नुपर्छ भन्ने मेरो व्यक्तिगत अनुभव रह्यो।

चीनमा पाइला टेकेपछि एउटा कुरा नजिकबाट महसुस गर्न पाएँ, विकास केवल ठूला भवन र फराकिला सडकको नाम होइन रहेछ। विकास भनेको मानिसको जीवनशैलीमा आएको परिवर्तन, प्रविधिको प्रयोग, श्रमप्रतिको सम्मान, समयको सदुपयोग र देशप्रतिको सामूहिक प्रतिबद्धता पनि रहेछ।
त्यहाँका नागरिकहरूको व्यस्तता, अनुशासन र मेहनतले ध्यान तान्यो। आधुनिक प्रविधिको प्रयोगदेखि सार्वजनिक पूर्वाधारसम्म, कृषि उत्पादनदेखि यातायातसम्म हरेक क्षेत्रमा व्यवस्थित योजना र कार्यान्वयन देखिन्थ्यो। हामी नेपालीका लागि यो यात्रा केवल घुमफिरको यात्रा थिएन। यो आफैँलाई ऐनामा हेर्ने अवसर पनि थियो। हामीसँग पनि प्राकृतिक स्रोत छन्, उर्वर जमिन छ, मेहनती जनशक्ति छ, युवा शक्ति छ र सम्भावना प्रशस्त छन्। तर यी सबैलाई उत्पादन, रोजगारी र समृद्धिसँग जोड्न अझै धेरै काम गर्नुपर्ने रहेछ भन्ने अनुभूति यो यात्राले गरायो।

तर चीन यात्राको सबैभन्दा ठूलो उपलब्धि मेरा लागि चीनका ठूला भवन, ग्रेट वाल, बुलेट ट्रेन वा सांघाईको झिलिमिली मात्र होइन।
सबैभन्दा सुन्दर कुरा त हामी ४५ जना थियौँ। काठमाडौँबाट सुरु हुँदा हामी १० जना थियौँ। बाटोमा साथीहरू थपिँदै गए। सुरुमा कोही कसैलाई राम्रोसँग नचिन्ने हामी अन्ततः हाँसो, खुसी, अनुभव, सहयोग र आत्मीयता साट्ने एउटा परिवार बनेर फर्कियौँ। यात्राका क्रममा भएका साना–साना कुराहरू अहिले सम्झिँदा मन मुस्कुराउँछ। सँगै खाएका खाना, सँगै हिँडेका बाटा, थकाइमा गरेका कुराकानी, फोटो खिच्दा देखिएका हाँसो, एकअर्कालाई गरेको सहयोग र कहिलेकाहीँ भएका सामान्य असमझदारीसमेत अहिले यात्राका मीठा सम्झना बनेका छन्। सायद यही नै यात्राको सुन्दरता हो, हामी गन्तव्य हेर्न जान्छौँ, तर फर्किँदा सम्झनाहरू लिएर आउँछौँ। चीनले मलाई विकास र प्रविधिको नयाँ संसार देखायो। तर मेरा सहयात्रीहरूले मलाई सम्बन्धको अर्को सुन्दर संसार चिनाए।

काठमाडौँबाट सुरु भएको १० जनाको सानो यात्रा चीन पुग्दा ४५ जनाको आत्मीय परिवारमा परिणत भयो र अन्ततः फेरि काठमाडौँ फर्किएर एउटा अविस्मरणीय अध्यायमा परिणत भयो। यो यात्रा मेरो जीवनमा केवल एउटा विदेश भ्रमणका रूपमा सीमित रहने छैन। यसले मलाई नयाँ ठाउँ देखायो, नयाँ मानिससँग जोड्यो, नयाँ सम्बन्ध दियो र आफ्नै देशलाई नयाँ आँखाले हेर्न सिकायो। चीनको प्रविधि, विकास, पूर्वाधार, कृषि, अनुशासन र समृद्धि देखेर प्रभावित हुनु स्वाभाविक थियो। तर त्योभन्दा महत्वपूर्ण कुरा, त्यहाँ देखेको विकासलाई आफ्नै देशको सम्भावनासँग तुलना गर्दै सोच्ने अवसर पाएँ। हामीले अरूको विकास देखेर केवल प्रशंसा गर्ने होइन, त्यसबाट सिकेर आफ्नै माटोमा के गर्न सकिन्छ भनेर सोच्नुपर्ने रहेछ।

र अन्त्यमा, हामीमध्ये धेरैजना यात्रा सुरु गर्दा एकअर्काका लागि अपरिचित थियौँ। तर फर्किँदा मनमा एकअर्काका लागि सम्झना, आत्मीयता र सम्बन्ध बोकेर फर्कियौँ। चीनले हामीलाई धेरै कुरा देखायो, तर हाम्रो समूहले मलाई एउटा कुरा अझ गहिरोसँग सिकायो,राम्रो यात्रा ठाउँले मात्र होइन, असल सहयात्रीहरूले अविस्मरणीय बनाउँछन्। तपाईंहरू सबैसँग बिताएका ती दिन, ती हाँसो, ती कुराकानी, ती सम्झना र त्यो आत्मीयता मेरा लागि जीवनभर सुरक्षित रहनेछन्। चीन भ्रमण सकिएको छ, तर त्यसले दिएका सम्झना र सम्बन्धहरूको यात्रा भने अझै सकिएको छैन। सायद यही यात्राको सबैभन्दा सुन्दर उपलब्धि हो।

खबरपाटी
खबरपाटी