बर्दिया-माइतीघर — केवल एउटा घर होइन, त्यो स्थान हो जहाँ हरेक छोरीले पहिलोपटक प्रेम, सुरक्षा र अपनत्व अनुभव गर्छ। बाल्यकालका हाँसो, आमाबुबाको माया, र पुराना साथीहरूको साथ — यी सबै सम्झनाहरू जीवनभरको आधार बनाउँछन्। यो लेखमा म आफ्नो माइतीघरको कथा र त्यहाँका सम्झनाहरू साझा गर्दैछु।
माइतीघर — यो शब्दले मनको कुनामा एउटा मिठो तान उत्पन्न गर्छ। त्यही घर जहाँ म पहिलो पटक हिँडेँ, लडेँ, उठेँ र संसार बुझ्न सिकेँ। आमाको अँगालो, बाबुको हौसला, दिदीभाइको हाँसो र हजुरआमाको असीम माया — यी सबै सम्झनाहरू आज पनि मेरो मुटुको सबैभन्दा कोमल स्थानमा सुरक्षित छन्।
माइतीघरको नाम लिँदा हजुरआमाको मुस्कान सम्झनामा आउँछ। उहाँ अहिले ९० वर्ष पार गर्नुभयो, तर अझै पनि उहाँको हाँसोको चमक उस्तै छ। कहिल्यै नथाक्ने जिब्रो, मिठा गफ गर्ने शैली र पुराना कथाहरू सुनाउँदा लाग्छ—समय त अघि बढेको छ, तर उहाँमा समय कहिल्यै रोकिने बानी बसेको छैन। उहाँको ऊर्जाले आज पनि त्यो घर उज्यालो बनाइरहेको छ।तर म स्वीकार्छु — माइतीघर भनेको केवल भौतिक संरचना होइन, त्यो भावनाको गहिरो बगैँचा हो। म सानै हुँदा मेरो एउटा सानो फूलबारी थियो। म आफैंले फूल रोप्थें, पानी हाल्थें, र हरेक बिहान ती फूलहरू फुल्दा म मुस्कुराउँथें। मसँग चिटिक्क पार्ने बानी त्यहीँबाट सुरु भयो। म सधैं वस्तुहरू मिलाएर राख्थें, आफ्नै सानो संसार सजाउँथें, र सोच्छु – त्यतिबेला मेरो संसार सानो थियो, तर त्यसको सौन्दर्य अपार थियो।
समयको पखेटा तीव्र गतिमा फर्फरिए, र त्यो सानो फूलबारी, ती साथीहरू, त्यो बाल्यकालको हाँसो सबै कतै हराए। मेरा बाल्यकालका साथीहरू अहिले आफ्ना कर्मथलोमा व्यस्त छन् — कोही देशभित्र, कोही टाढा देशमा। कहिलेकाहीँ सम्झँदा लाग्छ, जीवनका बाटा फरक भए पनि ती बाल्यकालका हाँसोहरू अझै पनि मनको एउटा कुनामा उस्तै अडिएका छन्।
बदलिएको छ त केवल माइतीघर भन्दा बाहिरको वातावरण। बस्ती नयाँ बनेका छन्, बाटाहरू फरक देखिन्छन्, घरको रङ पनि फेरिएको छ। समयसँगै परिवर्तन हुनु स्वाभाविक हो, तर मन भने कहिल्यै बदलिँदैन। किनकि माइतीघरको गन्ध, आमाको स्वर, र हजुरआमाको हाँसो – यी कुनै युगले पनि फेरि लेख्न सक्दैन।
बिहेपछि जीवनको अर्थ नै फरक हुन्छ। सानैदेखि जसलाई आफ्नो भनेर ठान्यौं, त्यस घरमा पनि एउटा पराइपनको झल्को आउँछ। यो समाजले तय गरेको नियम हो – छोरीको घर माइतीमा रूपान्तरण हुन्छ। नयाँ घर, नयाँ जिम्मेवारी, नयाँ परिचय – यी सबै जीवनका आवश्यक चरण हुन्, तर माइतीघर भने हरेक छोरीका लागि कहिल्यै पुरानो नहुने संसार हो।आज म जहाँ छु, जुन जीवन बाँचिरहेकी छु, त्यसको आधार पनि त्यही माइतीघर हो। त्यहाँबाट मैले सच्चाइ, माया र आत्मसम्मानको शिक्षा पाएँ। हरेक चोटमा माया दिने आमा, मौन समर्थन गर्ने बुबा, रमाइला साथीहरू, अनि सधैं हँसिलो हजुरआमा — सबैले मलाई बलियो बनाएका छन्। उनीहरू मेरा पहिलो शिक्षक हुन्, जसले मलाई जीवन बुझ्न र समयसँग हिँड्न सिकाए।
तर माइतीघर कहिल्यै पूर्ण हुँदैन। अहिले बाबा नहुदा त्यसमा शुन्यता महसुस हुन्छ। बाबा बिनाको माइतीमा शुन्यता त आउँछ नै, तर त्यसैबिच पनि म सधैं त्यो प्रेम र अपनत्वको खोजी गर्छु जुन माइतीघरले सधैं दिएको छ।
मेरो माइतीघर अहिले पनि त्यहीँ छ — तराईको फाटमा, जहाँ चारैतिर हरिया धानका बाला हावामा मन्दमन्द हल्लिँदै छन्। बिहानको कोमल हावा र साँझपखको शीतल झोकासँगै त्यहाँको वातावरण आज पनि आत्मालाई शान्त पार्ने औषधिजस्तो लाग्छ। त्यो ठाउँमा पुग्दा लाग्छ, समय केही क्षणका लागि थमिएको हो — आकाश उस्तै, माटो उस्तै, र मनभित्रको त्यो पुरानो माया पनि उस्तै।
हुनत मेरो जन्म यो ठाउँमा भएको होइन, तर पनि मेरो लागि यो स्थान सर्बप्रिय र मायाको आभास दिने थलो हो। यहाँको माटोको गन्ध, हावाको स्पर्श र प्रकृतिको सरलता भित्र यस्तो अपनत्व छ, जसले कहिल्यै पराइपन महसुस हुन दिँदैन।
साँझको सुरम्य उज्यालोमा धानका बाला सुनौलो भएर चम्किँदा लाग्छ, ती खेतहरूले अझै पनि मेरो बाल्यकालका हाँसोहरू सम्झिरहेका छन्। हावासँगै उड्दै आउने माटोको गन्धले मन पुरानो गीतजस्तै भिजाउँछ। समय बदलियो, म पनि बदलिएँ, तर त्यो घर अझै पनि मभित्र जिउँदो छ — उही स्नेह, उही न्यानोपन र उही अपनत्वका साथ। त्यो घर मेरो बाल्यकालको आत्मा हो, मेरो अस्तित्वको जरोजस्तो — जसले हरेक परिवर्तनबीच पनि मलाई म बनाइरहेको छ।