भोटेकोशी बाढीपीडितका लागि १६ हजार ६ सय किलो तरकारी तथा खाद्य सामग्री पठाइयो

भोटेकोशी बाढीपीडितका लागि १६ हजार ६ सय किलो तरकारी तथा खाद्य सामग्री पठाइयो

काठमाडौं - भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा १६ हजार ६ सय किलो तरकारी तथा आवश्यक खाद्य सामग्री पठाइएको छ।

मन्त्री चौधरीको निर्देशनमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ १३ देखि १५ गतेसम्म विभिन्न चरणमा राहतस्वरूप तरकारी तथा खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाएको हो।

भदौ १३ गते त्रिशूलीका लागि ५ हजार किलो हरियो तरकारी पठाइएको थियो। भदौ १४ गते त्रिशूलीका लागि २ हजार ५ सय किलो सिमी, भेडे खुर्सानी, बन्दा, प्याज र आलु पठाइएको थियो। सोही दिन धादिङका लागि २ हजार ८ सय किलो हरियो तरकारी पठाइएको थियो।

त्यसैगरी, भदौ १५ गते धादिङका लागि १ हजार ३ सय किलो लौका, करेला, घिरौँला, बोडी, सिमी र फर्सी पठाइएको छ। सोही दिन धादिङका लागि थप २ हजार ५ सय किलो आलु, लौका, घिरौँला, काक्रो र टमाटर पनि पठाइएको जनाइएको छ।

यस्तै, भदौ १५ गते नै त्रिशूलीका लागि २ हजार ५ सय किलो लौका, करेला, घिरौँला, बन्दा र भण्टालगायतका तरकारीसँगै चामल, कपडा तथा साबुनसमेत पठाइएको छ।

भदौ १३ देखि १५ गतेसम्म विभिन्न चरणमा गरी कुल १६ हजार ६ सय किलो तरकारी तथा खाद्य एवं आवश्यक सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।

विपद्को कठिन समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्रीको सहज पहुँच सुनिश्चित गर्न मन्त्री चौधरीले स्थानीय तह, कृषक, व्यवसायी तथा सम्बन्धित निकायबीचको समन्वयलाई निरन्तरता दिनुभएको बताइएको छ।

खबरपाटी
खबरपाटी