काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना तथा सञ्चार प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।
प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त भएका स्याटेलाइट फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
उपलब्ध गराइएका कुल २० थान फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ। ती स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ।
टेलिकम नेटवर्क नपुग्ने दुर्गम तथा सञ्चार सम्पर्क विच्छेद भएका स्थानमा समेत स्याटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने भएकाले विपद् व्यवस्थापनका क्रममा यस प्रविधि प्रभावकारी हुने अपेक्षा गरिएको छ।
स्याटेलाइट फोन सेवा सामान्यतया महँगो मानिने भए पनि विपद्को समयमा सञ्चार सम्पर्क कायम राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यस प्रविधिको प्रयोगबाट बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वय कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ।
विशेषगरी टेलिकम नेटवर्क अवरुद्ध भएका दुर्गम क्षेत्रमा उद्धारकर्मी, सुरक्षा निकाय र विपद् व्यवस्थापनमा खटिएका निकायबीच सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट फोन उपयोगी हुने प्राधिकरणको विश्वास छ।