काठमाण्डौ — आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति केही ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहानपख कुनै पनि ठाउँमा पानी परेको छैन । काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा घाम लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । अरु ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । ठूलो वर्षाको सम्भावना भएका पहाडी तथा नदी आसपासका क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
विशेषगरी यात्रा गर्दा मौसमको अवस्था र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाको सुझाव छ ।