धनगढी - कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसीले ग्लुकोज तथा स्लाइन लिन अस्वीकार गरेका छन् । डा. केसीलाई मांसपेशी बाँउडिने, अत्यधिक कमजोरीका कारण बोल्न र हिँड्डुल गर्न समेत कठिनाइ भएको छ ।
डा. केसीले उपचार गराउन अस्वीकार गरेका धनगढीस्थित सेती प्रादेशिक अस्पतालले शनिबार (साउन ९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसीको स्वास्थ्य अवस्था जटिल बनेकाले आईसीयूमा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
डा. केसीले ग्लुकोज तथा स्लाइन लिन अस्वीकार गरे पनि अस्पतालका चिकित्सकको नेतृत्वमा गठित चार सदस्यीय उपचार टोलीले २४ सै घण्टा निगरानी गरिरहेका उनका सहयोगी अमृत जैसीले जानकारी दिए ।
अस्पतालका अनुसार, डा. केसीको रक्तचाप ९०/६० देखि ११०/७० एमएमएचजीका बीचमा छ । रगतमा चिनीको मात्रा ५०–६० एमजी/डीएलमा झरेर हाइपोग्लाइसेमिया भएको छ । साथै, पिसाबमा किटोन बडी देखिएको, शरीरमा सोडियम तथा सेता रक्तकोषको मात्रा घट्दै गएको अस्पतालले जनाएको छ ।
शनिबार नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पतालको आईसीयूमा अनशनरत डा. केसीलाई भेटेका छन् । त्यसक्रममा डा. केसीले अघि सारेका मागबारे सामान्य छलफल भएको थियो । ती मागका विषयमा आइतबार (साउन १०) विस्तृत छलफल गरिने जनाइएको छ ।
डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित तीनबुँदे माग अघि सार्दै अनशन जारी राखेका छन् । उक्त विश्वविद्यालयमा आवश्यक दरबन्दी व्यवस्थासहित ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने उनको पहिलो माग छ । चालु शैक्षिकसत्रभित्रै एमबीबीएससहित मेडिकल शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने उनको दोस्रो माग हो ।
विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति स्वार्थ बाझिने गरी गरिएको भन्दै त्यो तत्काल बदर गर्नुपर्ने उनको तेस्रो माग छ ।
डा. केसीले चिकित्साशिक्षा सुधार र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका निम्ति यी माग तत्काल सम्बोधन गरिनुपर्ने बताएका छन् ।