बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

काठमाडौं - सरकारले भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यसहित बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका ती परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनीको मान्यता प्राप्त गरेका छन्।

लालपुर्जा वितरणपछि लाभग्राहीहरूले बैंकिङ सेवा, सहुलियतपूर्ण ऋण सुविधा तथा विभिन्न सरकारी सेवामा सहज पहुँच पाउने विश्वास गरिएको छ। यसले उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यका साथ अभियानलाई थप प्रभावकारी बनाइनेछ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियानलाई क्रमशः देशभर विस्तार गरिने जानकारी दिइन्।

खबरपाटी
खबरपाटी