काठमाण्डौ – अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ ।
इरानले हालै भएको युद्धविरामको उल्लङ्घन गरेको आरोपसहित अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरूमा कार्गो जहाजमा आक्रमण भएको र इरानले युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । उहाँको आरोपपछि अमेरिकी सेनाले आक्रमण गरेको बीबीसीले जनाएको छ ।
तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिका र इजरायललाई घटनाको दोषी भनेको छ । ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजमाथि कम्तीमा चार वटा ड्रोन प्रहार गरेको दाबी गर्नुभएको छ ।
आक्रमणबाट मालवाहक जहाजमा क्षति पुगे पनि आफ्नो यात्रा जारी राख्न सफल भएको खबरमा उल्लेख छ । अमेरिका, इजरायल र इरानबीचको तनावका कारण गएको फेब्रुअरी अन्तिम हप्तायता खाडी क्षेत्रमा सयौँ जहाज तथा हजारौँ नाविक प्रभावित भएका छन् ।
होर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबारदेखि उद्धार तथा निकासी अभियान शुरु गर्ने घोषणा गरेको थियो । तर पछिल्लो आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको छ ।