नेपालको आकाशदेखि सिङ्गापुरको उज्यालोसम्म : यात्राले सिकाएका सत्यहरू

नेपालको आकाशदेखि सिङ्गापुरको उज्यालोसम्म : यात्राले सिकाएका सत्यहरू

यात्रा केवल गन्तव्य बदल्ने क्रिया होइन। यो मनको परिधि, अनुभूति र दृष्टिकोण विस्तार गर्ने साधन हो। म स्वभावैले यात्रा मन पराउने मान्छे, किनकि जीवन र यात्रा एकअर्काका प्रतिबिम्ब जस्तै लाग्छन्। दुवैले मानिसलाई न केवल नयाँ अनुभव दिन्छन्, तर भित्री दृष्टिकोण र सोचको विकास पनि गराउँछन्। यही मनोभाव बोकेर सुरु भयो हाम्रो नौ दिनको पहिलो सिङ्गापुर यात्रा। बेलुकाको पाँच बजेको उडानले हाम्रो यात्रा र उत्साहको नयाँ पाना खोल्यो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेकेपछि मन केही पल्ट थामिएर रोकियो। विदेश रोजगारी र अध्ययनका लागि उभिएका युवाहरू—उनका आँखामा झिल्किएको अनिश्चितता, परिवारका अनुहारमा लुकेको पीडायुक्त मौनता। म कसैको आँखामा आँसु देख्दा मन असजिलो हुन्छ। त्यही क्षणले मेरो छुट्टी मनाउने उत्साह केही बेर रोकिदियो। संसार एउटै यात्रामा भए पनि मानिसहरूका बाटोहरू कति फरक रहेछन्। कोही बाध्यताले उडिरहेका, कोही आफ्नै रहरले।

दिल्लीसम्मको करिब दुई घण्टा तीस मिनेटको उडान इन्डिगोले सहज बनायो। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशालता र यात्रुको भीडले मन दङ्ग भयो। केही घण्टा प्रतीक्षापछि एयर इन्डियाको जहाज सिङ्गापुरतर्फ उडान भर्यो।

छ घण्टाको उडान रमाइलो भयो। मेरो देवर प्रस्तुतसँग मेरो सम्बन्ध साथीझैँ खुला र सहज छ। हामी सँगै हुँदा रमाइलो हुन्छ र समय छिट्टै बित्छ। यही कारण जहाजमा पनि सँगै बसेर गफ, हाँसो र सेवा–सुविधाको आनन्द लियौँ। श्रीमान् आफ्नो चलचित्रमा व्यस्त हुनुहुन्थ्यो, मम्मी भने सुतेरै यात्रा पार गरिरहनु भएको थियो। तर प्रस्तुत र मैले आकाशमाथिको उडानलाई सँगै रमाइलो बनायौँ।

सिङ्गापुरको चाङ्गी विमानस्थलमा अवतरण गर्दा मनमा एउटा छुट्टै उज्यालो फैलियो। अनुशासन, सफाइ, व्यवस्थित सेवा, स्वचालित प्रणाली र प्रविधिको सहज प्रयोगले धेरै कुरा बोलिरहेको जस्तो लाग्यो। मौसम अलि तातो थियो, तर शहरको चमकले त्यो असहजतालाई तुरुन्तै हरायो।

हाम्रो बसाइ होटल Z8 मा थियो। मम्मीको टर्कीस साथी पनि इस्तानबुलबाट आइपुगेपछि टोली पाँच जनामा पूर्ण भयो। सबैको उत्साहले यात्रा अझ बेजोड बनायो।

सिङ्गापुरमा हरेक दिनले नयाँ अनुभव थप्यो। Marina Bay Sands, Sentosa Island, Universal Studios, Merlion Park, Little India, Chinatown, Garden by the Bay र Orchard Road—हरेक ठाउँले शहरको अनुशासन, आधुनिकता र सौन्दर्य प्रकट गरिरहेको थियो। यहाँ सफाइ जीवनपद्धतिको हिस्सा, ट्राफिक नियम मात्र होइन, चेतनाको अभ्यास जस्तो लाग्यो। मानिसहरू आफ्नो काममा केन्द्रित, अनावश्यक हतार र कोलाहल लगभग छैन।

तर सानो विसंगति पनि थियो। पिउने पानीको मूल्य अत्यधिक महँगो थियो। यति विकसित देशमा पनि आधारभूत आवश्यकतामा यस्तो महँगोपन देख्दा मन अलि अधुरो भयो। खानामा पनि चुनौती थियो; धेरै देशका परिकार भेटिए पनि नेपाली दाल–भात–अचारको स्वाद मनले छोडेन। मनले सिङ्गापुर घुमिरहेको थियो, पेटले भने नेपाल सम्झिरहेको थियो।

भारतको इमिग्रेसनमा केही समस्या आयो। त्यहाँका कर्मचारीले भने कि धेरै नेपाली र भारतीय पर्यटक विदेश पुगेपछि फर्किँदैनन्, त्यसैले कडाइ गरिएको हो। हाम्रा कागजात सही भए पनि त्यो क्षणले यात्रा केवल आनन्द मात्रै होइन—यथार्थ बुझाउने पाठ पनि रहेछ भन्ने अनुभूति दिलायो।

सिङ्गापुर घुम्दा मनभरि एउटै प्रश्न उठ्यो। प्राकृतिक स्रोतभन्दा पनि व्यवस्थापन र दृष्टिकोण नै विकासको मूल आधार रहेछ। सिङ्गापुरमा प्राकृतिक सम्पदा समुद्र बाहेक धेरै छैन, तर आज यो विश्वकै धनी र व्यवस्थित राष्ट्रको रूपमा स्थापित छ। संसद भवनदेखि अदालत र जेलसम्म इतिहासलाई पर्यटकका लागि ज्ञान र आय स्रोतमा रूपान्तरण गरिएको छ।

नेपालमा भने हिमाल, पहाड, नदी, जडीबुटी, संस्कृति र इतिहास सबै छ। तर व्यवस्थापन कमजोर, योजना र कार्यान्वयन अधुरो। हाम्रो जडीबुटी विदेशमा ब्रान्ड बन्छ, आफ्नै देशमा उपेक्षित। इतिहास लेखिनुअघि नै हराउने डर। प्रकृतिले दिएको सुन्दरता छ, तर त्यसलाई चम्काउने दृष्टिकोण अझै आवश्यक छ।

यस यात्राले टाढा देखाएको मात्र होइन, नजिकको सत्य पनि देखायो। नयाँ देशले आँखा फराकिलो बनायो, नयाँ संस्कृतिले मनको आकाश फराकिलो बनायो, र आफ्नै देशप्रतिको प्रेम झन् गहिरो बनायो। सिङ्गापुरको उज्यालो सुन्दर छ, तर नेपालप्रतिको सम्भावना त्यसभन्दा झन् उज्यालो छ। विकासको ढोका व्यवस्थापनले खोल्छ, सम्भावनाको आकाश भने नेपालले पहिले नै सजाएर राखेको छ।

खबरपाटी
खबरपाटी