काभा नेशन्स कपमा पदक लक्ष्यसहित नेपाली पुरुष भलिबल टोलीको तयारी

काभा नेशन्स कपमा पदक लक्ष्यसहित नेपाली पुरुष भलिबल टोलीको तयारी

काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले बङ्गलादेशमा हुने सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) पुरुष नेशन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।
काभा पुरुष नेशन्स कप आउँदो अक्टोबर २२ देखि २८ सम्म बङ्गलादेशको ढाकामा हुँदैछ । यो प्रतियोगिता खेल्दै नेपाली टोली झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किँदैछ । यसको तयारीका लागि नेपाली टोलीले गएको असोज २ गतेदेखि प्रशिक्षण गरिरहेको छ ।
झन्डै एक महिनाको तयारीबाट नै नेपालले ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने काभा नेशन्स कपमा पदक जित्ने लक्ष्य राखेको छ । टोलीमा धेरैजसो युवा खेलाडी छन् ।
भरत यादवको मुख्य प्रशिक्षणमा नेपाली टोलीले राउन्ड रोबिन लिगमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । प्रशिक्षक भरतले दशैँ अगाडिदेखि नै प्रशिक्षण गर्दै आएको र तयारी राम्रो भएको बताएका छन् । पदक जित्ने लक्ष्यसहित खेल्ने प्रशिक्षक यादवको लक्ष्य छ । यस्तै टोलीका कप्तान हरिहजुर थापाले विजेता हुने लक्ष्यसहित टोलीले तयारी गरिरहेको बताए ।
काभा पुरुष नेशन्स कपमा नेपालसहित बङ्गलादेश, तुर्कमिनिस्तान, माल्दिभ्स, अफगानिस्तान र श्रीलङ्का रहेका छन् ।

खबरपाटी
खबरपाटी