निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन प्रधानमन्त्री कार्कीको आग्रह

निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभउको छ।

राष्ट्रपति रामचन्द्र पौडेल र ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतल निवासमा भएको छलफलपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभएको हो । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको उहाँको भनाइ छ । तयारी अझै द्रूततर गतिमा अघि बढाइरहेको प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराउनुभएको छ।

उहाँले राष्ट्रपति पौडेल, गृहमन्त्री, अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी, सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र निर्वाचनको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको पनि उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएको समेत बताउनुभयो । निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको शुरुवात भएको उहाँको भनाइ छ।

खबरपाटी
खबरपाटी