काठमाडौँ — लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानमा आवद्ध पत्रकारहरूको टोली स्थलगत समाचार सङ्कलनका लागि लाङटाङ पदयात्रामा जान लागेको अवसरमा भक्तपुरस्थित रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टले एक विशेष कार्यक्रमकाबीच बिदाइ गरेको छ।
रिसोर्टले आइतबार आयोजना गरेको बिदाइ कार्यक्रममा रिसोर्टका अध्यक्ष रामसुन्दर बकेले पत्रकारहरूलाई खादा ओढाएर र भादगाउले टोपी लगाईदिएर शुभकामना दिँदै बिदाइ गरे। उनले लाङटाङ क्षेत्रको विविध आयाम — प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, संस्कृति, परम्परा, भाषा र साहित्य — माथि खोजपत्रकारिता गर्न लागिएकोमा खुशी व्यक्त गरे।
अध्यक्ष बकेले भने, “लाङटाङ पर्यटकीय हिसाबले विश्व बजारमा परिचित भए पनि यस क्षेत्रको गहिरो सामाजिक र सांस्कृतिक पक्ष अझै पर्खिरहेको छ। यस्तो प्रयासले गहकिला विषयवस्तुहरू मूलधारमा ल्याउनेछ।”
कार्यक्रममा बोल्दै उनले रानीकोट क्षेत्रको ऐतिहासिक, पुरातात्त्विक र प्राकृतिक महत्वसमेत उल्लेख गरे। उनका अनुसार रानीकोट न केवल तत्कालीन मल्ल राजाहरूको गृष्मकालीन आवास स्थल हो, तर महाभारतकालीन युद्धसँग पनि कथनहरूमा जोडिएको पौराणिक गन्तव्य हो। राजधानी काठमाडौँदेखि करिब २५ किलोमिटर टाढा अवस्थित यो क्षेत्र आजका दिनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ।
पत्रकारहरूको यो टोली लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठान र बागमती प्रदेश पर्यटन मन्त्रालयको सहकार्यमा तयार पारिएको कार्यक्रम अन्तर्गत लाङटाङ क्षेत्रमा खोजमूलक पत्रकारिता गर्न जाँदैछ। टोली २०८२ साल जेठ २० गतेदेखि २४ गतेसम्म लाङटाङ क्षेत्रमा रहनेछ।
यस अभियानले स्थानीय संस्कार, जीविकोपार्जनको स्वरूप, पर्यटकीय सम्भावना तथा संरक्षण सम्बन्धी मुद्दाहरू उजागर गर्ने अपेक्षा गरिएको छ।