एनपीएलबाट बाहिरियो लुम्बिनी लायन्स

एनपीएलबाट बाहिरियो लुम्बिनी लायन्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको १८औँ म्याचमा जनकपुर बोल्ट्सलाई दोस्रो स्थानमा झारेर सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिँदा १९औँ म्याचमा काठमाडौं गुर्खाजसँग हारेर लुम्बिनी लायन्सले प्लेअफ यात्रा टुङ्ग्यायो । र, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी एनपीएलको प्लेअफ रेसबाट बाहिरिने पहिलो टिम बनेको छ । 

आजका दुई खेलपछि अंक तालिकामा केही फेरबदल भएको छ । यसअघि शीर्ष स्थानमा रहेको जनकपुर दोस्रोमा झर्दा दोस्रोमा रहेको सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ । चितवन राइनोज ६ अंकका साथ तेस्रो स्थानमा छ भने ६ अंक नै जोडेको कर्णाली याक्स रन रेट कम भएकाले चौथो स्थानमा छ । 

पाँचौँमा काठमाडौं गुर्खाज, छैटौँमा लुम्बिनी लायन्स, सातौँमा पोखरा एभेन्जर्स र आठौँमा विराटनगर किंग्स छन् । लुम्बिनीले ५ खेलमध्ये ४ मा हारेर प्लेअफ यात्रा टुङ्ग्याउँदा काठमाडौं, पोखरा र विराटनगरले अहिलेसम्म ४र४ खेल मात्र खेलेका छन् । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्स अनि दोस्रोमा काठमाडौं गुर्खाजविरुद्ध लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भएको थियो । संयोग के भने, दुवै खेल पहिलो ब्याटिङ गर्ने टिमले जिते । स्कोर पनि खासै ठूलो देखिएन । 

पहिलो खेलमा टस जितेको जनकपुरले सुदूरपश्चिमलाई पहिले ब्याटिङ गर्न बोलायो । सुदूरपश्चिमलाई १ सय २४ रनको सामान्य स्कोरमा रोक्न सके पनि आफू ५१ रनमा अलआउट भयो । दोस्रोमा टस जितेर ब्याटिङ गर्ने काठमाडौं गुर्खाजको निर्णय फापेको देखियो । किनकि, आफ्नो पहिलो खेलमा त्रिवि मैदानमा १ सय ९२ रनको स्कोर खडा गरेको लुम्बिनीले काठमाडौंबाट पाएको १ सय ४ रनको सामान्य लक्ष्यसमेत पूरा गर्न सकेन ।

८५ रन बनाउँदै अलआउट भएपछि १८ रनले लुम्बिनीले खेल गुमायो । योसँगै उसको प्लेअफ यात्रा समाप्त भएको छ भने काठमाडौंको स्थितिमा केही सुधार भएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले लुम्बिनीलाई १८ रनले हरायो । काठमाडौंले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १९।२ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोड्न सक्यो ।

खबरपाटी
खबरपाटी