काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार एकै दिन ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ ।
फागुन २१ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा बैंकहरुले गरेको कर्जा लगानी भने जम्मा ५० खर्ब ९० अर्ब रुपैयाँ हाराहारी मात्र देखिन्छ ।
अन्तर बैंक ब्याजदर २.८१ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.७० प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जारनिक्षेप अनुपात (सीडी रेसिया) ८०.०३ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।