काठमाडौँ - नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले नेपाल र फिनल्याण्डबीच अपेक्षाकृत व्यापार हुन नसकेको बताएका छन्।
नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको साधारणसभामा उनले आर्थिक साझेदारी विस्तारको पर्याप्त सम्भावना रहे पनि अपेक्षाकृत हुन नसकेको बताए। उनले दुई देशबीच व्यापार, लगानी, पर्यटन, शिक्षा तथा प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्न आवश्यक रहेको बताए।
फिनल्याण्ड नवप्रवर्तन, हरित तथा नवीकरणीय ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा र अत्याधुनिक प्रविधिमा परिचित रहेको उल्लेख गर्दै उनले नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा रहेका सम्भावनालाई फिनल्याण्डको अनुभव र प्रविधिसँग जोड्न सकिने बताए। राजदूत पुहाक्काले नेपाल–फिनल्याण्ड चेम्बर दुई देशका व्यवसायी, लगानीकर्ता तथा शैक्षिक संस्थाबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताए।
फिनल्याण्डले नेपालसँग शिक्षा, खानेपानी, सरसफाइ, जलवायु उत्थानशीलता तथा समावेशी विकासका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको उनको कथन छ। नेपालसँगको विकास सहकार्यका लागि फिनल्याण्डको नयाँ देशगत कार्यक्रम सन् २०२८ सम्मका लागि तय गरिएको उनले जानकारी दिए।
नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका संरक्षक राजेशकाजी श्रेष्ठले नेपाली उत्पादनले फिनल्याण्डमा पहिचान बनाउन थालेको उल्लेख गर्दै दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए। उनका अनुसार नेपाली कफी, नेपाली कागज र गोल्डस्टार जुत्ताले फिनल्यान्डमा राम्रो बजार पहिचान बनाएका छन्।
नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाल र फिनल्याण्डबीच शैक्षिक सम्बन्ध विस्तार हुँदै गएको बताए।
अध्यक्ष पाण्डेले नेपाली वायुसेवा कम्पनीमाथि युरोपेली सङ्घ (ईयू) ले लगाएको प्रतिबन्ध हटाउन कूटनीतिक पहल गरिदिन फिनल्याण्डका राजदूतसँग आग्रह गरे।