दशौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा

काठमाडौँ - सञ्जु घिसिङको प्रेरणामा सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौँ राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूहविजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ।

तीन टोली रहेको समूह ‘बी’को दोस्रो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई सहजै हरायो। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको कोर्टमा सुदूरपश्चिमले मधेशलाई ४७–३ को फराकिलो अन्तरले हरायो।

सुदूरपश्चिमको जितमा सञ्जुले सर्वाधिक १४ अंक योगदान गरिन्। सुदूरपश्चिमले चारै क्वार्टरमा क्रमशः २०, ११, ४ र १२ अंक जोड्यो। मधेशले भने दोस्रो क्वार्टरमा मात्र अंक जोड्न सक्यो। अन्य क्वार्टरमा सुदूरपश्चिमसामु मधेशले अंक जोड्न सकेन।

सुदूरपश्चिमले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो। यस समूहबाट अब बागमती र मधेशमध्ये एक टोली क्वार्टरफाइनलमा पुग्नेछ। बिहीबार यी दुईबीच प्रतिस्पर्धा हुनेछ।

समूह ‘ए’बाट एपिएफ, नेपाल पुलिस र कर्णाली प्रदेश तीनै टोलीको क्वार्टरफाइनलमा सम्भावना बाँकी छ। पहिलो खेलमा एपिएफसँग पराजित नेपाल पुलिसले दोस्रो खेल जित्यो। यो नतिजासँगै तीनै टोलीको सम्भावना बनेको हो।

बुधबार नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले सहजै हरायो। दिभा महर्जनले सर्वाधिक २० अंक जोडिन्। पहिलो क्वाटरमा कर्णालीले पुलिसलाई ८–४ ले पछि पार्‍यो तर दोस्रो क्वार्टरमा पुलिस पूर्ण हावी भयो र १७ अंकको अग्रता लियो।

पुलिसले दोस्रो क्वाटरमा २०–३, तेस्रोमा १०–५ र चौथोमा १८–३ स्कोर गर्‍यो। बिहीवार एपीएफ र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ।

बिहीवार कोशी र गण्डकी तथा लुम्बिनी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। थ्री अन थ्रीमा नेपाल आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो। आर्मीले कोशी प्रदेशलाई १३–८ ले पाखा लगायो।

आर्मीकी दिव्यांशी कार्कीले ६ स्कोर गरिन्। तीन टोली रहेको समूह ‘ए’बाट विजेता हुँदै आर्मी क्वार्टरफाइनलमा पुग्न सफल भयो। समूह ‘बी’बाट बागमती पनि विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको छ।

बागमतीले मधेशलाई ८–३ ले पन्छायो। वागमतीकी आरुषा महर्जनले चार अंक बटुलिन्। बिहीवार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी प्रदेश र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। बिहीवार फुल कोर्ट र थ्री अन थ्री दुवैमा क्वाटरफाइनल समीकरण तयार हुनेछ।

खबरपाटी
खबरपाटी