विपद्को पूर्वसूचनाका लागि नेपालमा सेल ब्रोडकास्ट प्रणालीको परीक्षण हुँदै, मंसिर ७ गते मोबाइलमा अलर्ट आउने

विपद्को पूर्वसूचनाका लागि नेपालमा सेल ब्रोडकास्ट प्रणालीको परीक्षण हुँदै, मंसिर ७ गते मोबाइलमा अलर्ट आउने

काठमाडौँ - विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले नेपाल सरकारले मोबाइल फोनमार्फत सूचना प्रवाह गर्ने नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको  (Cell Broadcast System) को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ। 

गृह मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा काठमाडौँका केही क्षेत्रमा २०८३ मंसिर ७ गते साँझ ५:30 बजे २ जी मोबाइल सञ्जालमार्फत परीक्षण गरिनेछ। परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ।

मन्त्रालयले यस्तो सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न अनुरोध गरेको छ। प्राप्त हुने सन्देशमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश/TEST ALERT) स्पष्ट रूपमा उल्लेख गरिएको हुनेछ। परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने पनि मन्त्रालयले जनाएको छ।

सेल ब्रोडकास्ट प्रणालीमार्फत बाढी, पहिरो, भूकम्प तथा अन्य विपद्को पूर्वसूचना प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउन सकिन्छ।

खबरपाटी
खबरपाटी