मेक्सिकोको उत्तरपश्चिमी राज्य सिनालोआमा शीर्ष लागुऔषध नाइके फाउस्टो इसिद्रो मेजा फ्लोरेस (उर्फ ‘चापो इसिद्रो’) लाई पक्राउ गर्न सञ्चालित सुरक्षा कारबाहीका क्रममा ११ जनाको मृत्यु भएको छ।
मेक्सिकोको राष्ट्रिय रक्षा मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार उक्त झडपमा चार जना मेक्सिकन सैनिक र सात जना संदिग्ध कार्टेल सदस्य मारिएका हुन्।
बेल्ट्रान लेवा आपराधिक सङ्गठनका नेता तथा अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) को सर्वाधिक खोजी (टप टेन मोस्ट वान्टेड) सूचीमा रहेका मेजा फ्लोरेसलाई मेक्सिको र अमेरिकाबीचको गुप्तचर सहकार्यपछि शुक्रबार पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई अन्य दुई संदिग्धसहित शनिबार बिहानै राजधानी मेक्सिको सिटी लगिएको मन्त्रालयले जनाएको छ।
पक्राउ पर्ने अन्य दुई जनामा मेजा फ्लोरेसका नातेदार एवं सङ्गठनका दोस्रो वरीयताका नेता 'जर्मन एन' र उनका साला तथा कथित आर्थिक कारोबारी 'जोस एन' रहेका छन्। तीनै जनालाई सङ्गठित अपराध हेर्ने विशेष अभियोजनकर्ताको कार्यालयमा बुझाइएको छ।
रक्षा मन्त्रालयका अनुसार ग्वासाभे नगरपालिकामा सुरक्षा सुदृढ पार्न जाँदै गरेका चार सैनिकमाथि आपराधिक समूहका हतियारधारी सदस्यहरूले आक्रमण गरेका थिए। कारबाहीका क्रममा सर्वसाधारणतर्फ भने कुनै मानवीय क्षति नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
मेक्सिकोका सुरक्षा तथा नागरिक संरक्षण सचिव ओमार गार्सिया हारफुचले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मृतक सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र सहकर्मीहरूप्रति समवेदना व्यक्त गरेका छन्। “उनीहरूको साहस र वीरता सिंगो मेक्सिकोको सम्मानयोग्य छ,” उनले लेखेका छन्।
गार्सिया हारफुचले यो कारबाहीलाई दण्डहीनताविरुद्धको लडाइँमा एक निर्णायक कदमको संज्ञा दिँदै आपराधिक समूहहरूको हिंसाले सिनालोआ र समग्र मेक्सिकोका परिवारहरूको जीवन र सुरक्षामा गम्भीर खतरा पैदा गरेको बताए। सङ्गठित अपराध नियन्त्रण गर्न र सार्वजनिक सुरक्षाको रक्षा गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको रक्षा मन्त्रालयले पुनः दोहोऱ्याएको छ।