काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदैछन्।
प्रधानमन्त्री शाह दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने भ्रमण दलमा ३४ सदस्यीय सरकारी टोली हुनेछ, जसमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहलगायत हुनेछन्।
निजी क्षेत्रबाट ५२ जनाको टोली आफ्नै खर्चमा भ्रमण दलमा मिसिँदैछ भने विभिन्न सञ्चारमाध्यमबाट पत्रकारसमेत सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाहरूको उद्धाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा पारवहन, सम्पर्क सञ्जाल, लगानी, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धिबारे छलफल र समझदारी हुनेछ। यसैगरी सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, मानव संशाधन लगायतका विषयहरू समेटिएका समझदारीपत्र आदानप्रदान हुने कार्यक्रम पनि तय गरिएको छ।
यी कार्यक्रमपश्चात् प्रधानमन्त्री शाह र समकक्षी मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। यसपछि नेपाली प्रतिनिधिमण्डल प्रधानमन्त्री शाहको सम्मानमा समकक्षी मोदीले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।
भ्रमणका अवसरमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपति मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
भारतमा व्यस्त तालिका
भारतीय विदेश मन्त्रालयका अनुसार, प्रधानमन्त्री शाह मङ्सिर आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन्। दिल्ली अवतरण गरेकै दिन साँझ ६ बजे उहाँले होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। त्यसपछि उनको आइतबारका लागि अश्र औपचारिक कार्यक्रम तय गरिएको छैन।
भ्रमणको दोस्रो तथा मुख्य दिन मङ्सिर ७ गते सोमबार भने प्रधानमन्त्री शाहको समय निकै व्यस्त रहनेछ। बिहान १० बजे राष्ट्रपति कार्यालयमा उनको औपचारिक स्वागत एवं भेटघाटको कार्यक्रम राखिएको छ। त्यसपछि उनी राजघाटस्थित समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
लगत्तै, हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच उच्चस्तरीय भेटवार्ता हुने कार्यतालिका छ। वार्तापछि मध्यान्ह १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति र सम्झौता आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ।
दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। राष्ट्रपतिसँगको भेट सकिएलगत्तै दिउँसो ४ बजेर ५० मिनेटमा उनी नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ।