काठमाण्डौ – नेपाल संवत् ११४७ आजदेखि शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । देशभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् (इसं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवत् शुरु गराएको इतिहास छ । नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।
नेपाल संवत्को नयाँ वर्ष काठमाण्डौ उपत्यकासहित काभ्रेको बनेपा र धुलिखेल, सिन्धुपाल्चोकको बाह्रबिसे, दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेष रूपमा मनाउने गरिन्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।
२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । नेपाल संवत्को नयाँ वर्षका अवसरमा आज नेवार समुदायले म्हः (आत्म) पूजा पनि गर्दैछन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतम बताउनुहुन्छ ।