काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा ब्रिफिङ लिनुभएको छ।
प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको हो।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
उहाँले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त तथा दुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री शाहले चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन पाउने व्यवस्था मिलाउन पनि जोड दिनुभएको छ।