काठमाडौं - कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूलको उत्पादन तथा उपभोग बढाउनुपर्नेमा जोड दिनुभएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को अवलोकन तथा सम्बोधन गर्दै मन्त्री चौधरीले नेपाली फूलको बजार विस्तार र स्थानीय उत्पादनलाई उपभोक्तासम्म सहज रूपमा पुर्याउन यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले तिहार नेपाली समाजको उज्यालो, रङ र फूलको पर्व भएको उल्लेख गर्नुभयो। पुष्प तथा नर्सरी व्यवसायले नेपाली संस्कृति, परम्पराको संरक्षणसँगै आयआर्जन र रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो।
मन्त्री चौधरीले स्वदेशी पुष्प उत्पादनको प्रवर्द्धन तथा नर्सरी व्यवसायको विकास र विस्तारमा नर्सरी व्यवसायी संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै स्वदेशी फूलको प्रयोग बढाउन सबै पक्षलाई आग्रह गर्नुभयो।
एक्स्पो उद्घाटनपछि मन्त्री चौधरीले विभिन्न पुष्प तथा नर्सरीजन्य उत्पादनका स्टलहरूको अवलोकन गर्नुका साथै व्यवसायीहरूसँग अन्तरक्रिया गर्नुभयो। सो अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागी तथा व्यवसायीहरूलाई सम्मानसमेत गरिएको थियो।
मन्त्री चौधरीले एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्दै प्रदर्शनीमा सहभागी व्यवसायी, नर्सरीप्रेमी तथा आगन्तुकहरूलाई धन्यवाद दिनुभयो। यस्ता प्रदर्शनीले नेपालको नर्सरी क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपालीलाई आगामी तिहार तथा छठ पर्वको अग्रिम शुभकामनासमेत दिनुभयो।