पदयात्री, पर्यटक र पथप्रदर्शकलाई उच्च सतर्कता अपनाउन टानको आग्रह

पदयात्री, पर्यटक र पथप्रदर्शकलाई उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाण्डौ – पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले ‘अर्नब’ चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ ।

टानले सूचनामार्फत् बङ्गालको खाडीमा विकसित भएको ‘चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो ।

टानले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार नै सतर्कता अपनाउन अनुरोध गरेको छ । टानले आफ्ना गाइड, सहयोगी र पर्यटकलाई समयमै जानकारी गराएर त्यसैअनुसारको पूर्वतयारीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

शुक्रबार र शनिबार आधार शिविर (जस्तैः घोराड, लार्के, काड्ला, सारीबुँद, छोला, सूर्यकुण्डलगायतका) र उच्च क्षेत्रका पर्यटकीय गन्तव्य (तिलिचोलगायतका) बाट सुरक्षित ठाउँमा पुग्न र भोलि बिहीबार देखि नै ती क्षेत्रतर्फको पदयात्रा रोकी सुरक्षित क्षेत्रमा बस्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै, मध्य तथा उच्चपहाडी क्षेत्र तथा नदीतटीय क्षेत्र भएर पदयात्रा गर्दा बाढीको जोखिम भएका खोला तथा नदी आसपासका क्षेत्र र पहिरो संवेदनशील क्षेत्रमा नबस्न र हिँडडुल नगर्न सुझाव छ ।

टानका अध्यक्ष सागर पाण्डेले बाढी तथा पहिरोका कारण अस्थायी रूपमा मर्मतसम्भार गरी पदयात्राका लागि प्रयोगमा ल्याइएका मनास्लु क्षेत्रका तातोपानी, खोर्लाबेँसी, जगत, सोला, नामरुङलगायतका क्षेत्र, मनाङ क्षेत्रको खोत्रो, कोटो, चामेलगायतका क्षेत्र, म्याग्दी तथा मुस्ताङ क्षेत्रमा रहेका सडक मार्ग, पदमार्ग तथा अस्थायी पुल भएर यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो ।     
 

खबरपाटी
खबरपाटी