काठमाडौं – नेपाली फुटबल निकै संकटको अवस्थामा रहेको समय निजी समूहले प्राविधिक साथ र स्वीकृति बिना नै नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) का सात फ्रेन्चाइज टोली सम्मिलित समूहले छुटै नेपाल फुटबल लिग गर्ने घोषणा गरेका हुन्। नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) द्वारा निलम्बनको अवस्थामा छ। तेस्रो पक्ष (सरकार) बाट हस्तक्षेप भएको भन्दै फिफाले एन्फामाथि निलम्बन गरिरहेको छ भने सरकारले पनि एन्फाका वर्तमान कार्यसमितिका अध्यक्ष पंकजविक्रम नेम्बाङमाथि भ्रस्टाचारको मुद्दा अगाडि बढाइरहेको छ।
नेपाली फुटबल विकास गर्ने जिम्मेवारी पाएको आधिकारिक संस्था नै कोमामा पुगेको अवस्थामा एक निजी समूहले अर्को पत्रकार सम्मेलन गर्दै फुटबल लिग घोषणा गरेको हो। नेपाल सुपर लिग (एनएसएल) ले गत जेठ ३ गते आफ्नो सम्पूर्ण तयारी पूरा भएको र भदौ २० गतेबाट लिग शुरु गर्ने घोषणा गरेको थियो। सोही दिन नै आयोजक नेपाल स्पोटर््स म्यानेजमेण्टले नेपाल सुपर लिग (एनएसएल) को प्रबन्ध निर्देशकमा राजु घिसिङलाई जिम्मेवारी दिएको थियो।
तथापि त्यो लिग हुन सकेन। आयोजक र त्यसको जिम्मेवारी पाएका व्यक्तिले नै एनएसएलबारे अहिलेसम्म पनि कुनै जानकारी दिएका छैनन्। उनै घिसिङलाई नै कमिसनर घोषणा गर्दै नेपाल फुटबल लिग (एनएफएल) गरिने दाबी गरिएको छ। काठमाडौंमा हिजो पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लिगको घोषणा गरिएको हो। नेपाल फुटबल लिग (एनएफल) फागुन १ बाट शुरु हुने बताइएको छ।
एनएफएलको प्रमुखमा कल्याण गुरुङ छन्। उनी नेपाल सुपर लिग (क्लब) ललितपुर सिटी एफसीका मालिक पनि हुन्। उनले यो केही टिम मिलेर शुरु गर्न लागेको निजी लिग रहेको र यसका लागि नेपाल सुपर लिगसँग अनुमति पनि लिएको दाबी गरेका छन्। एन्फामाथि कारबाही भएको र फुटबल लिग नभएको अवस्थामा नयाँ लिगल घोषणा गरिएको उनले बताए। गुरुङले क्लब छाडेर आफू लिग व्यवस्थापनमा अघि बढ्ने दाबी गरे।
प्रतियोगिताको नारा रहेको छ, ‘नयाँ युगको शुरुवात’। यसअघिको नेपाल सुपर लिग (एनएसएल) घोषणा भएर पनि आयोजना नभएको स्थितिमा त्यसै प्रतियोगितामा सहभागी हुने टिमले अबको प्रतियोगितामा सहभागिता जनाउनेछन्। सहभागी हुने अन्य टिममा काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरेर कुल सात रहेका छन्। नेपाल फुटबल लिग (एनएफएल) कमिसनरले नेपाली फुटबल कठिन अवस्थामा रहँदा लिग अगाडि बढाउने र एन्फामाथि निलम्बन फुकुवा भएपछि आधिकारिकता लिने घिसिङले दाबी गरे। एन्फा निलम्बन हुँदा एनएसएलको प्रक्रिया अघि बढ्न नसकेको घिसिङले बताए।
आयोजकले सहभागी हुने टिमको संख्या बढ्ने र १० टिमसम्म हुने बताएको छ। एनएसएल भने भदौ २० बाट शुरु हुने घोषणा कार्यक्रममा जानकारी दिइयो। एफसी चितवन मालिक सचिन ढकालले सात जना दाजुभाई मिलेर ठप्प भएको फुटबललाई अगाडि बढाउन लागेको बताए। एनएसएल र एनएफएल दुवै आयोजना हुने उनको विश्वास छ। पछि आउने बाधाहरू फुकुवा गर्दै जाने एफसी चितवन मालिक सचिन ढकालको दाबी छ।
प्रतियोगिताका कमिसनर राजु घिसिङ रहेका छन् र उनले प्रतिष्पर्धा चार महिनासम्म चल्ने र यसका खेल होम एण्ड अवेका आधारमा हुने पनि बताए।