काठमाडौँ – वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३-८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ नाफा कमाएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०२–८३ को भदौसम्ममा यी बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरूको नाफा ७।३२ प्रतिशतले बढेको छ।
र्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक छ। चालु आर्थिक वर्षको भदौसम्म नबिल बैंकले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५।३ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोवल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष भदौसम्म यो बैंकले १ अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म ४।०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। चालु वर्षको भदौसम्म यो बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०।९१ प्रतिशतले बढेको छ। नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५।१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसैगरी सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। उसले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ।
चालु आवको सुरुवातमा अधिकांश बैंकले करोडौँ नाफा कमाए पनि एनआईसी एसिया बैक, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको सञ्चित नाफा भने ऋणात्मक रहेको छ। तथ्यांकअनुसार एनआइसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक छ।
हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको समेत सञ्चित नाफा ६४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ।