गोरखा — सिरिङ्गे हिमालमा गएको हिमपहिरोका कारण उइन्गुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा आएको बाढीपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका कामलाई तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ भने पाँच जना स्थानीय अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य सुरक्षाकर्मीहरूले जारी राखेका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बाढी प्रभावित क्षेत्रमा हालसम्म ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढीको सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न करिब दुई लाख जनालाई पूर्वसूचना पठाइएको थियो। प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक बसेर अवस्थाको निरन्तर अनुगमन गर्नुका साथै उद्धार कार्य अघि बढाएको थियो।
आरुघाट जलमापन केन्द्रमा बुढीगण्डकी नदीको सतह खतराको तह पाँच मिटर नाघेर ८.४३ मिटरसम्म पुगेको थियो। बाढीका कारण गोरखा र धादिङका २०० भन्दा बढी घरमा क्षति पुगेको छ भने करिब १५० चौँरीगाई तथा भेडाबाख्रा बगाएको छ।
बाढीले खानेपानी आयोजना, निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको छ। साथै, मनास्लु पदमार्ग र गोरखा–धादिङ जोड्ने मुख्य सडकका तीनवटा पक्की पुल तथा दुईवटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।
विपद्पछिको राहत वितरणलाई प्रभावकारी बनाउन सरकारले हवाई माध्यमबाट खाद्यान्न तथा आवश्यक सामग्री ढुवानी गरेको छ। आज मात्रै काठमाडौंबाट गोरखाको फिलिममा चार हजार २७० किलोग्राम खाद्यान्न र एक हजार ९०० लिटर हवाई इन्धन पुर्याइएको छ। यससँगै प्रभावित क्षेत्रमा आपत्कालीन राहत वितरण अघि बढाइएको छ।
यातायात अवरुद्ध भएका क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन पनि काम भइरहेको छ। आरुघाट–सल्यानटार जोड्ने पुल पुनः सञ्चालनका लागि हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याएर निर्माण कार्य तीव्र पारिएको छ। त्यसैगरी, छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ।
सरकारले दसैँअघि नै बाढीका कारण अवरुद्ध भएका सम्पूर्ण सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। उद्धार तथा खोजी कार्यसँगै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्ने र यातायात सेवा सहज बनाउने कामलाई प्राथमिकतामा राखिएको छ।