बिमस्टेकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रिस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुदन गुरुङ भारत प्रस्थान गर्नुरेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रहरूको पहिलो गृहमन्त्रिस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमवार भारत प्रस्थान गरेको हो।

सदस्य मुलुकहरूबीच गृह प्रशासन र आन्तरिक सुरक्षाको क्षेत्रमा बहुपक्षीय समन्वय विस्तार गर्ने उद्देश्यका साथ आयोजित यो सम्मेलनलाई क्षेत्रीय सुरक्षा दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। सम्मेलनमा नेपालले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार हुने अन्तरदेशीय अपराध नियन्त्रण, बढ्दो साइबर सुरक्षा चुनौती, आतंकवादविरुद्धको साझा लडाइँ तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी साझा प्राथमिकता प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

खुला सिमाना, जलवायुजन्य विपद् तथा प्रविधिमा आधारित संगठित अपराधको चुनौती झेलिरहेको सन्दर्भमा नेपालले सदस्य राष्ट्रहरूबीच प्रभावकारी सूचना आदानप्रदान र क्षमता अभिवृद्धिमा जोड दिने तयारी गरेको छ। आयोजक तथा सहभागी राष्ट्रहरूमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा गुरुङको सहभागिताले अन्ताराष्ट्रिय मञ्चमा विशेष ध्यान आकर्षित गरेको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री गुरुङले सम्मेलनलाई सम्बोधन गर्नुका साथै बिमस्टेक सदस्य राष्ट्रका समकक्षी गृहमन्त्रीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको छ। भ्रमण दलमा गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

खबरपाटी
खबरपाटी