जनताले अनुभूति हुने गरी काँग्रेसले काम गर्नुपर्छ : ललितपुर महानगरका प्रमुख महर्जन

जनताले अनुभूति हुने गरी काँग्रेसले काम गर्नुपर्छ : ललितपुर महानगरका प्रमुख महर्जन

काठमाडौँ – ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताले अनुभूति हुने गरी काँग्रेसले काम गर्नुपर्ने बताएका छन्।

विगतका कामको चर्चा गरेर मात्रै नहुने उनले बताए। महर्जनले ललितपुर महानगरको प्रमुखको अनुभव पार्टीको नीति निर्माण र कार्यसम्पादनमा उपयोग गर्न उम्मेदवारी दिएको बताए। उनी नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको खुला सदस्य पदका उम्मेदवार हुन्।

अहिलेका युवा पुस्ता तथा आमनागरिकले भाषण र आश्वासनभन्दा कामको परिणाम खोजिरहेको उल्लेख गरे। काँग्रेसले विगत भजाएर मात्र अबको राजनीतिक चुनौती सामना गर्न नसक्ने उनको भनाइ छ। काँग्रेस आगामी दिनमा देश विकासका लागि स्पष्ट योजना, नीति र दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताए।

महाधिवेशनले मुलुकको विकासका लागि प्रभावकारी योजना र नीति निर्माण गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ। उनले काँग्रेसप्रति युवाको आकर्षण बढ्दै गएको पनि बताए। साथै पार्टीको संशोधित विधानले युवालाई समेट्ने गरी व्यवस्था गरेको पनि उनले बताए। पार्टीभित्र दुई खेमाको अवस्था देखिएकाले त्यसलाई एकीकृत गर्नुपर्ने उनको कथन छ।

महर्जनले भने, ‘जनतालाई गफ होइन, काम चाहिएको छ। सेवा दिन सक्ने गरी काम गर्न सक्नुपर्छ। दुईपटक मेयर भएर काम गरेको अनुभव काँग्रेसको केन्द्रीय कार्यसमितिमा उपयोग गर्न चाहन्छु।’

उनले काँग्रेसको महाधिवेशनबाट चर्चित अनुहारभन्दा काम गरेर देखाएका र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए। योग्य र काम गर्नसक्ने नेतृत्व चयनबाट काँग्रेसको भविष्य निर्धारण हुने उनको भनाइ छ।

खबरपाटी
खबरपाटी