काठमाडौं - कृषि, वन तथा पर्यावरण मन्त्रालयमा Global Green Growth Institute (GGGI) का नेपाल तथा पाकिस्तानका Country Representative सुश्री Laura Jalasjoki लगायतको प्रतिनिधिमण्डलसँग हरित विकास, जलवायु वित्त, हरित हाइड्रोजन तथा जलवायु उत्थानशील कृषिका विषयमा छलफल भएको छ।
भेटमा GGGI प्रतिनिधिमण्डलले संस्था ५५ देशमा कार्यरत अन्तर्राष्ट्रिय तथा अन्तरसरकारी संस्था रहेको जानकारी दिँदै समावेशी तथा दिगो आर्थिक विकासमार्फत जलवायु उत्थानशील र समृद्ध विश्व निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको जानकारी गराउनु भयो। नेपाल सन् २०२२ देखि GGGI को सदस्य रहेको उल्लेख गर्दै स्रोत परिचालन, वित्तीय संयन्त्र विकास, संस्थागत योजना तथा क्षमता विकासमा सहयोग गर्दै आएको जानकारी दिइएको थियो।
नेपालमा GGGI ले कृषि, सिँचाइ, कृषि उपज प्रशोधन तथा जलवायु क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र मधेश प्रदेशमा समेत तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा काम गरेको जानकारी दिइयो। सिँचाइ नहरमा सहयोग, कृषि प्रशोधन तथा यान्त्रिक उपकरण र नेपालमा हरित बन्ड प्रवर्द्धनका लागि बैंक तथा वित्तीय क्षेत्रसँग सहकार्य गरेको उल्लेख गर्नुभयो। साथै, जलवायु वित्त तथा Paris Agreement कार्यान्वयनका लागि क्षमता विकास, नीति सहयोग, हरित हाइड्रोजन तथा स्वदेशी रासायनिक मल उत्पादनसम्बन्धी पहलमा समेत GGGI को सहयोग रहेको जानकारी दिइयो।
सो अवसरमा माननीय मन्त्रीज्यूले हरित हाइड्रोजन र स्वदेशमै रासायनिक मल उत्पादन नेपालको महत्वपूर्ण प्राथमिकता रहेको उल्लेख गर्दै हरित हाइड्रोजनको विकासलाई मल उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले जलवायु वित्त मन्त्रालयको प्राथमिकताको क्षेत्र रहेको उल्लेख गर्दै हालैको भोटेकोशी बाढीका कारण कृषि भूमि तथा पूर्वाधारमा भएको क्षतिले खाद्य सुरक्षा र कृषकको जीविकोपार्जनमा चुनौती थपिएको बताउनुभयो।
GGGI प्रतिनिधिले नेपालमा हरित हाइड्रोजनसम्बन्धी लगानी परिचालनमा सहजीकरण गर्न तथा आवश्यक नीतिगत र नियामक व्यवस्था विकासमा प्राविधिक सहयोग उपलब्ध गराउन आफूहरू इच्छुक रहेको बताउनुभयो। वित्तीय संस्था तथा निजी क्षेत्रसँगको सहकार्यबाट रासायनिक मल उत्पादन तथा अन्य हरित क्षेत्रमा लगानी परिचालन गर्न तथा कार्बन व्यापार र कार्बन वित्त सम्बन्धी संयन्त्र विकासमा समेत सहयोग गर्न सकिने जानकारी गराउनुभयो।आगामी दिनमा मन्त्रालय र GGGI बीच Advisory Meeting आयोजना गरी सहकार्यका प्राथमिकता क्षेत्र पहिचान गर्ने, सम्भावित परियोजना तथा लगानीका अवसर खोजी गर्ने र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। साथै, GGGI को आगामी वार्षिक Governance Meeting मा नेपालको सहभागिताका लागि आमन्त्रण गरिएको थियो।