संयुक्त राज्य अमेरिका, क्यानाडासहित ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका आठ राष्ट्रले इरान र उसका सहयोगी समूहले पश्चिमी गोलार्धमा आतङ्कवादी गतिविधि तथा विभिन्न घातक कारबाही सञ्चालन गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध समन्वय र सहयोग बढाउने घोषणा गरेका छन्।
अमेरिका, अर्जेन्टिना, क्यानाडा, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, गुयाना, पाराग्वे, पेरु तथा ट्रिनिडाड एन्ड टोबागोका सरकारहरूले सोमबार संयुक्त घोषणापत्र जारी गर्दै इरान र उसका सम्बद्ध समूहबाट उत्पन्न भनिएका सुरक्षा चुनौती सामना गर्न आफूहरू एकजुट रहेको बताएका हुन्।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा सहभागी राष्ट्रहरूले आफ्ना देश र नागरिकलाई यस्ता खतराबाट जोगाउन दृढ रहेको बताउँदै इरान र उसका प्रतिनिधिहरूलाई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्।
घोषणामा इरान र उसका सहयोगी समूहले घातक षड्यन्त्र, गैरकानूनी रूपमा कोष सङ्कलन, राजनीतिक हस्तक्षेप तथा पश्चिमी गोलार्धभर विदेशी प्रभाव विस्तार गर्ने अभियानमा संलग्न भएको दाबी गरिएको छ। यस्ता गतिविधिले आतङ्कवादी सञ्जाललाई बलियो बनाउने, कथित विरोधीलाई डर देखाउने, कानूनी तथा प्रशासनिक प्रणाली कमजोर पार्ने र क्षेत्रीय सुरक्षामा चुनौती सिर्जना गर्ने सहभागी राष्ट्रहरूको दाबी छ।
यद्यपि, सोमबार जारी वक्तव्यमा त्यस्ता आरोपसँग सम्बन्धित कुनै विशेष घटना, सङ्गठन वा कथित षड्यन्त्रको विवरण भने दिइएको छैन। घोषणामा इरानसँग सम्बन्धित घातक गतिविधि तथा षड्यन्त्र रोक्न यसअघि विभिन्न सरकारले कार्यान्वयन गरेका उपायको प्रशंसा गरिएको छ।
सरकारहरूले यस्ता गतिविधि रोक्न थप उपाय अवलम्बन गर्ने तथा त्यसका लागि आपसी समन्वय र सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घोषणाले मध्यपूर्वभन्दा बाहिर इरान र उसका सहयोगी समूहका भनिएका गतिविधि सामना गर्न क्षेत्रीय सुरक्षा सहकार्य विस्तार गर्ने अमेरिकी पहललाई पनि अघि सारेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो घोषणा गत महिना अमेरिका र पाराग्वेले संयुक्त रूपमा आयोजना गरेको ‘काउन्टरिङ ट्रान्सन्यासनल टेररिज्म फोरम’ पछि आएको हो। उक्त फोरमको उद्देश्य इरानसँग सम्बन्धित भनिएका आतङ्कवादी गतिविधि रोक्न पश्चिमी गोलार्धका सरकारबीच कानून कार्यान्वयनसम्बन्धी सहयोग सुदृढ गर्नु रहेको मन्त्रालयले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले उक्त पहललाई ट्रम्प प्रशासनले पश्चिमी गोलार्धमा सुरक्षा साझेदारी सुदृढ गर्ने व्यापक उद्देश्यको एउटा हिस्साका रूपमा प्रस्तुत गरेको छ। क्यानाडासहित आठ ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रलाई समेटेर जारी गरिएको घोषणाले यसअघि भन्दा व्यापक क्षेत्रीय सहकार्यको स्वरूप लिएको छ।
वासिङ्टनले तेहरानमाथि सशस्त्र समूहलाई समर्थन गरेको तथा इरानी सरकारी निकाय र सम्बद्ध संस्थामार्फत विदेशमा गतिविधि सञ्चालन वा सहजीकरण गरेको आरोप लगाउँदै आएको छ। इरानले भने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ। तेहरानले अमेरिकामाथि इरानविरुद्ध भूराजनीतिक उद्देश्य पूरा गर्न प्रतिबन्ध तथा सैन्य दबाब प्रयोग गरेको आरोप लगाउँदै अमेरिकी दाबी खारेज गर्दै आएको छ।