ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि अस्पतालहरूसँग सम्झौता

ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि अस्पतालहरूसँग सम्झौता

काठमाडौँ - ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषद्‌सँग सम्झौता गरेको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठ र परिषद्का तर्फबाट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षर गरेपछि धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले अस्पतालमा पहिलोपटक जाँच गर्ने ज्येष्ठ नागरिक कार्यक्रमको मूल्याङ्कन सूचक रहेको बताइन्।

‘अस्पताल आउने गर्नु भएका ज्येष्ठ नागरिकको सेवालाई अझ सहज र सरल बनाउँदै लैजानुपर्छ’‚ उनले भनिन्, ‘रोग सहेर घरमै बसिरहने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनु चाहिँ कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन सूचक हो। सेवाग्राहीको उमेर, लिङ्ग, शारीरिक अवस्था, प्रदान गरिएका सेवा लगायत सबै विवरण राखेर मासिक प्रतिवेदन पेश गर्नुहोला।’ 

उनले घरघरमै स्वास्थ्य सेवा दिने क्रममा २ हजार ७५ ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य जाँच गरिएको जानकारी दिइन्। उनले भनिन्, ‘छत्रपाटी निःशुल्क चिकित्सालयमार्फत १४ हजार ५४३ पटक, डल्लु सामुदायिक स्वास्थ्य परिषद्‌मार्फत १ हजार २१५ जनालाई निःशुल्क स्वास्थ्य जाँच गराएका छौँ, ३ हजार ३ सयजना ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप सेवा प्रदान गरेका छौँ। वडाहरूबाट १० हजार बढी ज्येष्ठ नागरिकलाई तीर्थाटन गराएका छौँ।’ 

उनका अनुसार १० वटा ज्येष्ठ नागरिकमैत्री पार्क सञ्चालनमा रहेको छ। १२ हजार ३८३ ज्येष्ठ नागरिकलाई वार्षिक प्रतिव्यक्ति १२ हजार रुपैयाँ पोषण भत्ता प्रदान गरिएको छ। ५ हजार ३९७ जना ज्येष्ठ नागरिकलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको पनि उनले जानकारी दिइन्। 

खबरपाटी
खबरपाटी