काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्तिसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँउपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएकोविद्युत् दुर्घटनामा घाइते २७ वर्षीय तामाङलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
तामाङ ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो।
प्राधिकरणका अनुसार उपचारका क्रममा लागेको ७ लाख १८ हजार ६७६ रुपैयाँ, अस्पतालमा भर्ना भएरउपचार गराएको ६० दिनका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ तथा पूर्ण अंगभंगबापत१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइनेछ।
प्राधिकरणले यसअघि तामाङलाई ५ लाख रुपैयाँ पेश्की उपलब्ध गराइसकेको छ। प्राधिकरण मेडिकल बोर्डले उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सन तथा अन्य कागजात अध्ययन गरी पेश्की कटाएर बाँकी उपचार खर्च र दुर्घटना क्षतिपूर्ति भुक्तानी गर्न सिफारिस गरेको थियो।
दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार २ लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने व्यवस्था छ। सोभन्दा बढी उपचार खर्च भएमा प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्ने भएकाले तामाङको उपचार खर्चसम्बन्धी कागजात बोर्डबाट अध्ययनगरिएको प्राधिकरणले जनाएको छ।
विनियमावलीमा प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारणव्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने प्रावधानसमेत रहेको प्राधिकरणले जनाएको छ।