बर्खे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक शुक्रबार बस्ने

बर्खे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक शुक्रबार बस्ने

काठमाडौँ – बर्खे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक शुक्रबार बस्ने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी संसद् अधिवेशन अन्त्य गरेको घोषणा गरिसकेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तीन वटा महत्त्वपूर्ण विधेयक ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्योट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव बैठकमा सर्वसम्मत स्वीकृत भयो। 

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गरेकी थिइन्। 

त्यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सभामा पेश गरे। 

खबरपाटी
खबरपाटी