काठमाण्डौ – पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाडी चल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङकाअनुसार धादिङको कृष्णभीर, परेवाभीर र बाँगेमोड क्षेत्रका पहिरोलगायतका अवरोध हटाएर दिउँसो १ बजेदेखि सडक सञ्चालनमा ल्याउने तयारी छ ।
यो सँगै संघीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने सबैजसो सडक सञ्चालनमा आउने भएका छन् । यसअघि मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा सडकको झण्डै ७० मिटर लम्बाइ भाँसिएरपछि आवागमन एकतर्फी छ । यो सडक भई आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाउन र लेन अनुशासनको पालना गर्न भरतपुर सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।
बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खुलेको छ । बाढीले सडक तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन र पहिरो पन्छाएपछि हिजोदेखि गाडी एकतर्फी चल्न थालेका हुन् ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्रयाकबाट गाडीहरु सञ्चालन गरिएको छ ।
अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाडी चलेका छन् । सडक खुले पनि नदीको बहाव र सडकको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
अरनिको राजमार्गको धुलिखेल–खावा खण्डमा पहिरो हटाएर गाडी चल्न थालेका छन् ।