अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन । इरानले आफ्ना सर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको, तर आफ्ना अधिकार र सर्तमा पनि सम्झौता नगर्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँका अनुसार इरानले कतारमार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ ।
इरानको प्रस्तावमा मध्यपूर्व, लेबनान र यमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका सर्त छन् ।
विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा ठूलो असर परेको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनुभएको छ ।
यसैबीच, इरानले अमेरिकी पानीमुनि चल्ने मानवरहित उपकरण अर्थात् ड्रोन कब्जामा लिएको दाबी गरेपछि दुई देशबीचको तनाव थप बढेको छ ।