काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि नेताहरूले गर्ने गरेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा उनले आफू पदको लोभमा नभई शहीद परिवारको न्याय र देशको सुधारका लागि संसद्मा आएको स्पष्ट पारेकी हुन्। सांसद खतिवडाले संसद्को रोष्टमबाट बोल्दै आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणीहरूको प्रतिवाद गरिन्।
उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेनजी’ आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको स्पष्ट पारिन्। सम्बन्धित राजनीतिक दल र सरकारलाई लक्षित गर्दै उनले जिम्मेवार भएर बोल्न आग्रह गरिन्। खतिवडाले न्याय प्राप्तिको दिन आफू पदबाट राजीनामा दिन एक सेकेण्ड पनि नहिचकिचाउने बताइन्।
खतिवडाले भनिन्, ‘मेरो काख रित्तिएको छ, संसार उजडिएको छ। यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु। म एउटी शहीदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमारिऊन् भनेर खबरदारी गर्न आएकी हुँ।’
सरकारसँग माग राख्दै सांसद खतिवडाले बन्दी बनाइएका आन्दोलनकारीको रिहाइ, घाइतेहरूको निःशुल्क उपचार र शहीद परिवारको चित्त बुझ्ने गरी न्याय निरूपण गर्न ध्यानाकर्षण गराइन्।