काठमाडौं — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँ असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको विदेश भ्रमणका क्रममा उहाँको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीदिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको र सोहीअनुसार जिम्मेवारी तोकिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका समसामयिक विषय तथा अन्तर्राष्ट्रिय सरोकारकामुद्दा उठाउने तयारी गर्नुभएको छ। विशेषगरी जलवायु परिवर्तन, हिमाली क्षेत्रका समस्या तथा जलवायु न्यायका विषय नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेतरहेको छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हो।