काठमाडौँ – सरकारले १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
न्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरवशमशेर जङ्गबहादुर राणा, राजदूत सिफारिस भएका छन्।
जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शरु जोशीको नाम सिफारिस गरिएको छ।
यस्तै ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डा.सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूत सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सिफारिस भएकाहरूलाई संसदीय सुनुवाइका लागि अब सरकारले सङ्घीय संसद्मा पठाउनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका लागि (एग्रिमो) पठाउने छन्। एग्रिमो प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गर्ने व्यवस्था छ।