काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनलेआज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले रसुवामा आएको बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेतप्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता विपद्को सामना गर्नुपरेको बताउनुभयो।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने प्रभाव सम्बोधन गर्न विश्वव्यापीसहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।
भेटमा नेपालको पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीका लागि सरकार सदैव स्वागत गर्न तयार रहेको बताउनुभयो।
सो अवसरमा कार्यवाहक अमेरिकी राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो।
उहाँले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेकोबताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराउनुभयो।