भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका सांसदसँग गरे परामर्श

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका सांसदसँग गरे परामर्श

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदहरूसहभागी थिए। छलफलमा बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा जारी उद्धार र राहत कार्यबारे जानकारी लिइएको थियो।

भेटमा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बाढीले पुर्‍याएको क्षति तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले सरकार बाढी प्रभावित नागरिकको सुरक्षा, उद्धार तथा राहतमा पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताए। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।

यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।

सरकारले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितका सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।

खबरपाटी
खबरपाटी